करिब १७ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति
फाइल तस्बिर

विदेशी मुद्रा सञ्चिति १० दशमलव २ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । 

कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ बराबर छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव २ प्रतिशतले वृद्धि भइ गत कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भइ १२ अर्ब ७५ करोड पुगेको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले वृद्धि भइ २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । 

गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया