हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजारयल, निशानामा सैन्य प्रमुख

अमेरिका र इजरायलबीच हमासविरुद्धको कारबाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे विचार गरिरहेको छ । 

यस सम्बन्धमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेताहरूलाई निशाना बनाउन सक्ने बताएका छन् । 

रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विष्फोट र भूमिगत कारबाहीको सट्टा हमासका आतंककारी नाइकेहरुलाई (नेताहरु) प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ । यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो । इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

अमेरिकी सल्लाहकार जेक सुलिवानले आफ्नो इजरायल भ्रमणका क्रममा यस युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन् । अब हमास नेताहरू र तिनीहरूको गुप्तचर कार्यहरूलाई लक्षित गर्दै थप आक्रमणहरू गरिनेछ ।



इजरायलको प्रमुख निशानाहरूमा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ । उनलाई अक्टोबर ७ को हमलाको मास्टरमाइन्ड मानिन्छ । हमासका नम्बर दुई कमाण्डर मारवान इसा पनि इजरायली सेनाको निशानामा छन् । गाजामा हमास नेता याह्या सिनवारलाई पनि मार्ने प्रयास भइरहेको छ ।

सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँग बिहीबार भेट गरेको बताए । त्यसमा सेनाका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।



अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि अन्तर्राष्ट्रिय समुदाय इजरायलविरुद्ध बन्दै गएको चेतावनी दिएका थिए । 

इजरायली अधिकारीहरूसँगको बैठकपछि सुलिवानलाई अमेरिकाले सैन्य सहायता रोक्न सक्छ कि भनेर सोधिएको थियो। उनले जवाफ दिन अस्वीकार गरेका थिए ।
 

  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार ८:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया