गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीय दंग, भन्छन्– घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पायौँ

वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका भोजपुरको टेम्केमैयुङ–५  चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।  ।

सिटामोल र जीवनजल किन्न चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयवासी टङ्कबहादुर विष्ट दङ्ग छन् । दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका उनको भनाइ छ । 

केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए । ‘वर्षौँदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ’, उनले भने, ‘अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।’

विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवाका लागि जानुपर्ने अवस्था थियो । नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई  लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको उनले बताए । रासस 





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १०:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया