अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् । योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूर्णविराम लागेको छ ।
क्यापिटल हिंसाको मुद्दामा कोलोराडो राज्यको मुख्य अदालतले मंगलबार ट्रम्पलाई अमेरिकी संविधानबमोजिम राष्ट्रपति पदका लागि अयोग्य घोषित गरेको हो ।
अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ । यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४औँ संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेदवार अयोग्य बनाउन को लागी प्रयोग गरिएको छ ।
ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै न्यायाधीश डेमोक्रेटिक पार्टीका गभर्नरहरूले नियुक्त गरेको रहेका अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो ।
तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।
उच्च अदालतले ४ जनवरीसम्म वा अमेरिकी सर्वोच्च अदालतले यस विषयमा निर्णय नगरेसम्म आफ्नो निर्णय रोकेको छ । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।