logo-img

विद्यालयमा वितरण हुने सेनिटरी प्याडमा भ्रष्टाचार, सरोकारवाला निकाय लाचार

आजभन्दा दुई दशकअघिसम्म महिला तथा किशोरीहरू महिनावारी हुँदा घरायसी पुराना कपडालाई प्याडका रूपमा प्रयोग गर्थे । ती प्याडले केही मात्रामा रगत त सोस्थे, तर कपडा सफा र स्वच्छ नहुँदा त्यसबाट विभिन्न संक्रमण भई प्रायः किशोरीहरू बिरामी पर्थे । एक त महिनावारी उनीहरूका लागि ‘लज्जा’को विषय हुन्थ्यो भने यसको व्यवस्थापन पनि उत्तिकै झन्झटिलो हुने गर्थ्यो । अधिकांश किशोरीहरू महिनावारीका बेला विद्यालय छाड्न बाध्य हुन्थे ।

समयक्रमसँगै सहरीक्षेत्रमा मात्रै होइन, गाउँघरमा पनि महिनावारीका बेला सेनेटरी प्याडको प्रयोग गर्ने प्रचलन बढ्दै गयो । तर, आर्थिक अभावका कारण प्याड किन्न पनि समस्या हुँदा गाउँघरका किशोरीहरू महिनावारीका बेला विद्यालय नजाने समस्या यथावत् रह्यो । छात्राहरूको स्वास्थ्य र शैक्षिकस्तर सुधारका लागि सरकारले विद्यालयमा प्याड वितरण गर्नुपर्ने माग सबैतिरबाट उठेपछि सरकारले यसमा चासो देखायो ।

पछिल्ला केही वर्षयता सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ । तर, त्यस्ता प्याडको उपयोग र गुणस्तरमा भने बेला–बेखत प्रश्न उठ्दै आएको छ । किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडको गुणस्तरबारे प्रश्न उठे पनि सरकारले यसमा उचित ध्यान दिन सकेको देखिन्दैन । जनता निरन्तर प्रश्न गरिरहने, सरकार उत्तर दिन आलटाल गर्ने रवैया यथावत् छ । 



सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि अधिकांश विद्यालय र छात्राले भने असन्तुष्टि जनाइरहेका छन् । 

कैलालीस्थित शारदा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्, शान्ति चौधरी (नाम परिवर्तन) । उनी गत वर्ष असारमा पहिलोपटक महिनावारी भएकी थिइन् । महिनावारी हुँदा सेनिटरी प्याड प्रयोग गनुपर्छ उनले विद्यालयमा अध्ययनका क्रममा थाहा पाएकी थिइन् । उनलाई उनकी ठूली दिदीले पनि यसबारे सिकाएकी थिइन् ।

शान्ति महिनावारी हुँदा पहिले विद्यालय जान अप्ठेरो मान्थिन् । कुनै दिन त विद्यालय पनि जादिनथिइन् । तर, बिस्तारै विद्यालयमा पनि सेनिटरी प्याड उपलब्ध हुन थालेपछि भने केही सहज महसुस गर्न थालिन् । ‘पहिले विद्यालय समयमै महिनावारी हुँदा त घर जान्थेँ । पछि विद्यालयमै महिनावारी प्याड पाउन थालेपछि भने केही सजिलो भयो,’ शान्तिले भनिन्, ‘विद्यालयले प्याड दिन थालेपछि केही राहत भएको भए पनि विद्यालयले दिने सेनिटरी कम गुणस्तरको छ । त्यो प्याडले धेरै रगत सोस्दैन । एकपटक लगाएपछि १–२ घण्टा पछि फेरि फेर्नुपर्ने झन्झट छ ।’



उनका अनुसार विद्यालयले उपलब्ध गराउने सेनिटरी प्याड र पसलमा पाइने सेनिटरी प्याडमा फरक छ । बजारमा पाइने सेनिटरी प्याड एकपटक प्रयोग गरेपछि कम्तीमा सात घण्टापछि फेर्न मिल्छ भने विद्यालयले उपलब्ध गराउने सेनिटरी प्याड १–२ घण्टामा फेरिरहनुपर्छ । यसले गर्दा अलिक झन्झटिलो महसुुस भइरहेको शान्तिको भनाइ छ । 

शान्ति मात्र होइन, उनका सहपाठीको गुनासो पनि उस्तै छ । प्याडको लम्बाइ–चौडाइ कम हुँदा र महिनावारी हुँदा बगेको रगत प्याडले नसोस्ने गरेको छात्राहरूको गुनासो छ । यस्तै, श्री जनता माध्यमिक विद्यालय जैसीपुर कैलालीमा अध्यापन गराउँदै आएकी अम्बा बोहराले सरकारी विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणले धेरै सहज भएको बताइन् । 



उनका अनुसार सरकारी छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने व्यवस्थाले छात्रालाई धेरै नै राहत पुगेको छ । तर, सेनिटरी प्याडको गुणस्तरमा भने ध्यान दिन जरुरी रहेको उनले औँल्याइन् । ‘विद्यालयमा वितरण गरिने सेनिटरी प्याड एकदमै पातलो खालको छ । यसले महिनावारीमा अत्यधिक रक्तश्राव हुँदा थेग्दैन । एकैपटक दुई–तीनवटा राख्दा पनि रगत सोस्दैन । छात्राहरूले पनि यसप्रति गुनासो गरिरहेका छन्,’ उनले भनिन् । 

सरकारले निःशुल्क वितरण गरिरहेको सेनिटरी प्याडको सुविधा सराहनीय कार्य भए पनि यसको गुणस्तरीयता पनि ध्यान दिन जरुरी रहेको उनले बताइन् । ‘विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण हुन थालेपछि छात्राहरू नियमित स्कुल आउन थालेका छन् । महिनावारीको समयमा विद्यालय नै नआउने छात्रा पनि हुन्थे,’ शिक्षिका अम्बाले भनिन्, ‘निःशुल्क सेनिटरी प्याड वितरण हुन थालेपछि भने छात्राहरू विद्यालय नै नआउने क्रम भने रोकिएको छ । सरकारले गरेको काम राम्रो छ । तर, निःशुल्क वितरण गरिरहेको प्याडको गुणस्तरमा भने ध्यान दिन एकदमै आवश्यक छ ।’

उनका अनुसार विद्यालयलाई आवश्यक पर्ने सेनिटरी प्याडको विवरण संकलन गरेर गाउँपालिकालाई पठाइन्छ । र, विवरण उपलब्ध भइसकेपछि गाउँपालिकाले समयमै सेनिटरी प्याड विद्यालयलाई उपलब्ध गराउने उनले जानकारी दिइन् । 

यसैगरी, काठमाडौंस्थित दरबार हाइस्कुलअन्र्तगत रहेको भानु माध्यमिक विद्यालयकी प्रधानाध्यापक शारदा पौडेलले पनि सरकारले निःशुल्क वितरण गरिरहेको सेनिटरी प्याडले छात्रालाई धेरै सहज भएको बताइन् । 

‘विद्यालयमा सेनिटरी प्याड उपलब्ध नहुँदा छात्राहरू बिदा बस्ने चलन थियो । अहिले त्यो क्रम हटेको छ । छात्राहरू सरकारले दिएको सुविधा पाएर खुसी छन्,’ प्रधानाध्यापक पौडेलले भनिन्, ‘हामीले कोटेसनमार्फत सेनिटरी प्याड लिइरहेका छौँ । त्यसैले प्याड गुणस्तरको नै रहेको छात्राले बताइरहेका छन् । कहिलेकाहीँ कम गुणस्तरको भित्रिने गरेको भए पनि हामीले त्यसलाई मूल्यांकन गरेर परिवर्तन गर्ने गरेका छौँ ।’ उनका अनुसार गत वर्ष समयमै सेनिटरी प्याड उपलब्ध नहुँदा आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो । तर, यो वर्ष भने समयमै पाइरहेको उनले जानकारी दिइन् । 

घोडाघोडी नगरपालिका कैलालीमा रहेको घोडाघोडी आधारभूत विद्यालयकी शिक्षिका सीता बोहराले पनि सरकारले वितरण गरिरहेको निःशुल्क स्यानिटरी प्याड कम गुणस्तरको रहेको बताइन् ।  ‘एक वर्षअगाडि कम गुणस्तरको सेनिटरी प्याड उपलब्ध भएको थियो । उक्त प्याडले राम्रोसँग रगत नसोस्ने, प्रयोग गरेको केही समयमै डल्लो पर्ने, केही छात्रामा छाला चिलाउने, एलर्जी हुनेजस्ता समस्या थियो,’ शिक्षिका बोहराले भनिन्, ‘तर, यसपटक भने सेनिटरी प्याड राम्रो आएको छात्राहरूको अनुभव छ । कार्यक्रम सुरु भएको वर्ष गुणस्तरीय सेनिटरी प्याड पाएको भए पनि बीचमा कम गुणस्तरको आएको थियो ।’ कम गुणस्तरको सेनिटरी प्याड आउन थालेपछि भने उनी कार्यरत विद्यालयले सम्बन्धित निकायमा बारम्बार ध्यानकर्षण गराएको उनको भनाइ छ । 

उनका अनुसार सरकारले निःशुल्क सेनिटरी प्याड वितरणले छात्रालाई धेरै सहज भएको छ । कहिलेकाहीँ कम गुणस्तरको सेनिटरी प्याड पनि आउने गरेको छ । त्यसलाई भने सरकारले नियमन गर्न आवश्यक छ । कम गुणस्तरको सेनिटरी प्याडका कारण छात्राको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने हुँदा सरकारले यस्ता समस्यालाई समयमै पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने उनले सुझाइन् । 

हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ भनेझैँ निःशुल्क सेनिटरी प्याड वितरणले सामुदायिक विद्यालयका छात्रालाई केही मात्रामा भए पनि राहत महसुस भएको सरोकारवाला बताउँछन् । यसको नकारात्मक पाटोलाई पहिल्याउँदा सेनिटरी प्याडको गुणस्तर रहेको अधिकांशको अनुभव छ । 

सेनिटरी प्याडको प्रयोग प्रत्यक्ष रूपमा महिलाको स्वास्थ्यसँग सम्बन्धित रहेको विषय हो । न्यून गुणस्तरका सेनिटरीको प्रयोग भविष्यमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छन् । त्यसैले सरकारले समयमै यसप्रति चनाखो हुन जरुरी रहेको स्वास्थ्यविज्ञको भनाइ छ ।

गुणस्तरहीन सेनिटरी प्याडले स्वास्थ्यमा जटिलता निम्त्याउने भेरी अस्पताल नेपालगन्जका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन् । उनी भन्छन्, ‘कमसल, गुणस्तरहीन सेनिटरी प्याडको प्रयोगले शारीरिक र मानसिक दुवैखाले समस्या निम्त्याउँछ ।’ 

‘सेनिटरी प्याडको काम भनेको रगतलाई सोस्ने हो, प्याड कमसल खाले परेर सोसेर रगत भित्र जान सकेन भने त्यसको खराबी छ ,’ उनले भने, ‘रगत भनेको कीटाणु संक्रमणका लागि छिटो माध्यम हो । प्याडले रगत सोसेन भने कपडामा लाग्ने त छँदै छ, महिलालाई झन् धेरै मानसिक तनाव हुन्छ ।’ त्यसैले सरकारले अनुगमन गरेर सेनिटरी प्याड गुणस्तरीय वितरणतर्फ ध्यान दिन आवश्यक रहेको उनले औँल्याए । 

कार्यविधि परिवर्तनको तयारी

सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि ०७६ मा प्याडको न्यूनतम लम्बाइ २४० मिलिमिटर, चौडाइ ६० देखि ७५ मिलिमिटर, मोटाइ १५ मिलिमिटरलगायत न्यूनतम मापदण्ड तोकिएको छ । उक्त मापदण्डमा रहेर नगरपालिकाले प्याड खरिद गरी विद्यालयलाई आवश्यकताअनुसार वितरण गर्नुपर्छ । तर, स्थानीय निकायले गुणस्तरको सेनिटरी प्याड उपलब्ध गराइरहेको दाबी गरे पनि प्रयोगकर्ताको अनुभव भने तीतो छ ।

न्यून गुणस्तरीय सेनिटरी प्याड वितरणबारे गुनासो सरकारले पनि नसुनेको होइन । न्यून गुणस्तरको प्याड वितरणबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि गुनासो पुगेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहले सेनिटरी प्याडका लागि टेण्डर हालेपछि मन्त्रालयले सोहीअनुरूप बजेट विरतण गर्छ । बजेट वितरण भइसकेपछि स्थानीय तहले नै सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद गरेर दिने गरेका छन् । संघीय सरकारले तोकेको सेनिटरी प्याडको मापदण्डअनुसार हुने गरेर टेण्डर हाल्ने गरेको भए पनि पहिले बनाएको मापदण्ड परिमार्जन गर्नुपर्ने देखिएको उनले बताए ।

‘पहिले बनाएको कार्यविधि परिमार्जन गर्नुपर्ने देखिएको हुँदा त्यसलाई परिमार्जन गर्ने तयारी सरकारले गरिरहेको छ । मापदण्डअनुसारको सामग्री उत्पादन गरेर विरतण गर्न पनि गाह्रो भयो भन्ने गुनासो पनि आएको छ,’ ती कर्मचारीले भने, ‘विद्यालयमा वितरण भइरहेका न्यून गुणस्तरीय सेनिटरी प्याडको केन्द्रबाटै अनुगमन गर्ने भन्ने कुरा असम्भवजस्तै छ । प्राविधिक रूपमा पनि असहज छ । त्यसैले न्यून गुणस्तरीय प्याड वितरणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले नै पूर्ण लिनुपर्छ ।’

सरकारी लगानी बालुवामा पानी 

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको महिनावारी व्यवस्थापन गरी स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने समस्या समाधान गर्न सेनिटरी प्याड खरिदका लागि बर्र्सेनि बजेट विनियोजन गर्दै आइरहेको छ । सरकारले बर्र्सेनि सेनिटरी प्याडका लागि भन्दै करोडौँ रकम विनियोजन गर्ने गरेको छ । तर, छात्राले कम गुणस्तरको सेनिटरी प्याड पाउँछन् । यसरी हेर्दा सरकारी लगानी बालुवामा पानी खन्याएझैँ भइरहेको सरोकारवालाको भनाइ छ ।  

०७६ को बजेटमा सरकारले सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण घोषणा गरेको थियो । कक्षा १२ सम्मका छात्रालाई महिनावारीका बेला पढाइमा बाधा नहोस् भनेर निःशुल्क प्याड वितरण गर्न बजेटमा नै समावेश गरेको थियो ।

त्यसपश्चात् हरेक बजेट भाषणमा प्याड शीर्षकमा बजेट विनियोजित हुँदै आएको छ । सरकारले सेनिटरी प्याडका लागि भन्दै कार्यक्रम सुरु गरेको वर्षदेखि नै बजेट विनियोजन हुँदै आइरहेको छ । 

यसका लागि आर्थिक वर्ष ०७६/०७७ मा एक अर्ब २७ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो । आव ०७७/०७८ मा मात्र सरकारले देशभरका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत करिब १३ लाख ४० हजार छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहमार्फत सशर्त अनुदानको रूपमा एक अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको थियो । 

यस्तै, आव ०७८/७९ १ अर्ब ४३ करोड र आव ०७९/८० मा १ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै यसका लागि अर्थ मन्त्रालयले एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 
सरकारले लगानी गरे पनि स्थानीयस्तरमा हुने भ्रष्टाचारलाई नियमन गर्न नसक्दा लाभग्राही मर्कामा पर्ने गरेका छन् । केही विद्यालयले गुणस्तरीय प्याड वितरण गरे पनि अधिकांश विद्यालयमा वितरण हुने प्याडको गुणस्तर अत्यन्तै निम्नस्तरको रहेको पाइएको छ । यसको एउटा कारण कम मूल्यमा धेरै सामान खरिद गर्नुपर्ने बाध्यता पनि हो भने खरिदकर्ता निकायमा हुने भ्रष्टाचार अर्को कारण हो । यसमा नियामक नियामक निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

विदेशबाट आयात गनुपर्ने भएकाले स्रोतसाधन अभावका कारण समयमै गाउँगाउँमा प्याड पुर्याउन नसक्नु अर्को कारण हुन सक्छ ।   नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकालगायत मुलुकबाट सेनेटरी प्याड आयात हुन्छ । प्याड गोटा र किलोमा आयात हुन्छ भने ट्याम्पोन र मिन्स्ट्रुअल कप वटामा आयात हुन्छ । 

  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १९:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया