logo-img

नेपालमा भारतीय फिल्मको दबदबा : लघुताभासमा नेपाली चलचित्र
हल नेपाली, फिल्म भारतीय

नेपाली फिल्महरू आ–आफैं जुध्ने तर विदेशी फिल्मसँग भने भाग्ने प्रवृत्ति उहिले पनि उस्तै थियो, अहिले पनि यस्तै छ । हिन्दी फिल्मको आपसी जुधाईमा बाच्छाको मिचाइको नियति नेपाली फिल्मले भोग्दै आएको हो । त्यही डर पालेर बसेका छन्, नेपाली फिल्म निर्माता । गत २४ कात्तिकमा नेपाली फिल्म ‘दिमाग खराब’ रिलिज भयो । 

यस वर्षको दसैँ–तिहारमा ठूला ब्यानरका भारतीय फिल्मसँग भिड्न पुगे पनि ‘दिमाग खराब’ ले फिल्म हलमा आफ्नो पकड बनायो । यसको पाँच हप्तापछि बल्ल दुई नेपाली फिल्म रिलिज भए । तर, यतिबेलाको परिदृश्य ठ्याकै अलग देखिन्छ । नेपाली फिल्म हल नै नेपाली फिल्म विहीन बनेका छन् ।  

शुक्रबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्मको अवस्था बक्स अफिसमा दयनीय नै देखिन्छ । एक महिनापछि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ ले पहिलो दिन नै पानी समेत भन्न नपाएपछि अहिले नेपालका हलमा विदेशी फिल्मको हालीमुहाली देखिएको छ । भारतीय फिल्म एनिमलले तीन हप्तादेखि हल छाडेको छैन । एनिमलले नेपालमा साढे १० करोड रुपैयाँ उठाइसकेको छ ।  



यसबीच, बुधबारबाट हलिउड फिल्म ‘आक्वाम्यान २’ र बिहीबारबाट बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ प्रदर्शनमा आएको छ । जसले गर्दा डेढ महिनादेखि धेरथोर हलमा टिकिरहेको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ पनि उतारिएको छ । नेपालमा शाहरुखको ‘डंकी’ को ओपनिङ व्यापार पनि निकै आक्रामक देखिएको छ ।

अहिले साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’ पनि प्रदर्शनमा आएको छ । यो फिल्मको बुकिङ ट्रेन्ड नेपालमा ‘डंकी’ भन्दा राम्रो देखिएको बक्स अफिसको रिपोर्टले देखाउँछ ।  

यही दुई फिल्मका कारण पनि यो हप्ता कुनै नेपाली फिल्म प्रदर्शनमा आउन सकेका भने छैनन् । यसले नेपाली फिल्म विदेशी फिल्म देखि डराउँछन् भन्ने बुझ्न सकिन्छ । यही कारण आगामी दुई हप्ता यस पटक पनि नेपाली हल नेपाली फिल्मविहीन रहनेछ ।



नेपाली फिल्म नहुँदा पनि हलको व्यापार भने विदेशी फिल्मका कारण सानदार देखिएको छ । तर, नेपाली फिल्मको हरिबिजोग भइरहँदा नेपाली हलमा भारतीय फिल्मको हाइहाइ कहिलेसम्म ? प्रश्न त उठ्छ नै ।  



  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १७:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया