logo-img

आजदेखि नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
फाइल फाेटाे

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । 

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ । 

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए । 



यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए । 

६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार ६:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया