logo-img

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । 
        
वीरगञ्जस्थित नारायणी रंगशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अंक बटुलेको हो । 
    
टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए । युपी ११ का तीनजना खेलाडी रन आउट भएका थिए । 
    
भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २र२ विकेट हात पारे । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ । 
    
पुलिसका लागि शंकर राणाले अविजित ३१ रनको योगदान दिए भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले । पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए । 
    
भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिए भने भीम शर्मा र असि अन्सारीले समान १–१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शंकर राणा घोषित भए ।  
        
प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा पर्सा ११ र भारतको भारतको वान्डर्स क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रंगशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए । 







  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १५:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया