logo-img

एभर्टनविरुद्ध टोटनहमको जितमा रिचार्लिसन र सनको गोल

इंग्लिस प्रिमियर लिगमा टोटनहमले एभर्टनलाई २–१ गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा टोटनहमको जितमा रिचार्लिसन र सन हिउङ मिनले गोल गरे ।

एभर्टनका लागि आन्ड्रे गोमेसले एक गोल फर्काए । रिचार्लिसनले नवौँ मिनेटमा बेरनन जोनसनको पासमा गोल गर्दै टोटनहमलाई सुरुआती अग्रता दिलाए । १८ औँ मिनेटमा सन हिउङ मिनले अग्रता दोब्बर बनाए । तर, ८२ औं मिनेटमा एभर्टनका लागि आन्ड्रे गोमेसले गोल गर्दै अन्तर २–१ मा झारे पनि हार टार्न पर्याप्त भएन । 



यो जितसँगै टोटनहम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन तालिकाको १६औँ स्थानमा छ । प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ३–२ गोलले पराजित गरेको छ । यो खेलमा नटिङघम फरेस्ट २३औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । 

उसका विली बेलीले दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए । सुरुआती अग्रता लिए पनि अन्त्यमा नतिजा बर्नमाउथको पक्षमा ३–२ ले गयो ।

बर्नमाउथ २२ अंकका साथ तालिकाको ११औँ स्थानमा छ भने नटिङघम फरेस्ट १४ अंकहित १७औँ स्थानमा रहेको छ । त्यसैगरी लुटनले न्यूक्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । लुटन जितका साथ १८ औँ स्थानमा रहँदा न्यूक्यासल भने सातौँ स्थानमा रहेको छ । 



यस्तै, बर्नलेले फुलह्यामलाई २–० गोल अन्तरले स्तब्ध बनाएको छ । बर्नले १९ औं स्थानमा रहँदा फुलह्याम १२ औं स्थानमा रहेको छ । यसैगरी वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदै तालिकामा सुधार गरेको छ । 

वेस्टह्याम छैटौँ स्थानमा उक्लिँदा म्यानचेस्टर युनाइटेड आठौँ स्थानमा धकेलिएको छ । प्रिमियर लिगमा आज आइतबार एक खेल हुने भएको छ । आज वुल्भ्स र चेल्सी आमनेसामने हुनेछन् ।   



चेल्सी २२ अंकका साथ तालिकाको दसौँ स्थानमा रहँदा वुल्भ्स १९ अंकका साथ १४औँ स्थानमा छ ।

  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार ८:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया