‘आपूर्ति व्यवस्थापन प्रणालीमा सुधार गर्न नीतिनियममा सुधार गर्न आवश्यक’

शुक्रबार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ति व्यवस्थापन प्रणालीमा केन्द्रित रहेर अन्तरक्रिया गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसिया र एचएमआईएस शाखा प्रमुख कपिल तिमल्सेनाले खरिद प्रक्रिया तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका विषयमा प्रकाश पारेका थिए । 

सरकारले वर्षमा अर्बौँ रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने गरेको छ । सो खरिद प्रक्रियाका बेला शंका–उपशंकासहित विभिन्न प्रश्न उठ्ने गरेका छन् । 

कार्यक्रममा महानिर्देशक डा. मिश्राले खरिद प्रक्रियालाई विवादरहित पारदर्शी ढंगले अघि बढाउने आफ्नो प्रयास रहेको बताइन् । उनले कतिपय नीतिगत अप्ठ्यारा, कतिपय व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले पनि खरिद प्रक्रियालाई विवादमा पार्ने गरेको उनको भनाइ छ । 

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले स्वास्थ्यको खरिद प्रक्रिया पनि सार्वजनिक खरिद ऐनअनुसार हुँदा कहिलेकाँही समस्या पर्ने गरेको बताए । 



‘एक्कासि महामारी फैलिन्छ, सार्वजनिक खरिद प्रक्रियाअनुसार जाँदा ६ महिनामा पनि सामान आउँदैन, तर उपचारका लागि तत्काल सामग्री खरिद गर्नुपर्ने हुन्छ । किनकी मान्छेको ज्यानको सवाल छ । हो, यतिबेला निकै समस्या पर्छ । त्यसैले यसलाई सुधार गर्न जरुरी छ,’ डा. शर्माले भने । यसका साथै उनले स्वास्थ्यमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा प्रक्रियाअनुसार नै काम हुने गरेको स्पष्ट पारे । 

आपूर्ति शाखाका प्रमुख डा. चौरसियाले स्वास्थ्यमा हुने खरिद प्रक्रिया तथा आपूर्ति व्यवस्थापनसम्बन्धी प्रक्रियालाई विस्तृतरूपमा बुझाएका थिए । उनले सार्वजनिक खरिद ऐनअनुसार नै खरिद तथा आपूर्ति हुने गरेको भन्दै नियमविपरीत काम हुँदा त्यसले सफलता नपाउने बताए ।



उनले पनि केही नीतिगत अप्ठ्यारा भएकोले बेलाबखतमा समस्या आउने गरेको जानकारी दिए । उपकरण खरिद प्रक्रिया जटिल पाटो भएकाले नीति-नियममा सुधार गर्न राज्यले ध्यान दिनु पर्नेसमेत उनले बताए ।

  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार १२:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया