logo-img

टिकटकबाट उदाएका आशालाग्दा अनुहार

नेपालमा टिकटकले बजार लिन सुरु लामो समय नहुँदै सरकारले यसमा प्रतिबन्ध लगायो । यसमा भित्रिएका केही विकृतिलाई नियन्त्रण गर्ने हेतुले सरकारले प्रतिबन्ध लगाए पनि यही टिकटकले छोटो समयमै नेपाली कलाक्षेत्रलाई थुप्रै उपहार दिएको छ । 

टिकटकमार्फत कलाक्षेत्रमा पाइला चालेका थुप्रै सेलेब्रिटी छन् । उनीहरूको अभिनयकला ठूला फिल्महरूमा उल्लेख्य रूपमा हेर्न नपाए पनि म्युजिक भिडियोहरूमा प्रशस्तै देख्न पाइन्छ । यहाँ टिकटकमार्फत उदाएका केही नायिकाहरूको चर्चा गरौँ ।

नेपाली फिल्म क्षेत्रमा नायिकाहरू धेरै भए पनि नाम चलेका र  दर्शकलाई रिझाऊन सक्ने थोरै मात्र भेटिन्छन् । हातमा फिल्मको अभाव नहुने नायिकाहरू औँलामा गन्न सकिनेगरी सीमित छन् । 

अधिकांश नायिका आफ्नै दुनियाँमा व्यस्त छन् भने केही त यो क्षेत्रलाई छाडेर विदेश पलायन नै भइसके । केही नायिका सानातिना म्युजिक भिडियोबाट गुजारा चलाइरहेका छन् भने कोही विज्ञापनमा आफूलाई प्रस्तुत गरेर जीविका चलाइरहेका भेटिन्छन् ।
 
कलाकारिता क्षेत्रमा कलाकारले अभिनय गरेको पात्र हिट भए मात्र कलाकारको आयु बढ्छ भन्ने मान्यता छ । त्यसैले पनि आफ्नो पात्रताका कारण कमैले मात्र कलाको आफ्नो आयु लम्ब्याउन सफल भएका छन् । 

हिजोआजको परिवेश हेर्दा नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्ने अधिकांश कलाकार म्युजिक भिडियोमा सीमित छन् । कोराना महामारीको लकडाउनपछि नेपालमा टिकटकको औधी क्रेज बढ्यो । यही क्रेजका बीचमा थुप्रै प्रतिभा जन्मिँदै गए । तीमध्ये केहीले म्युजिक भिडियोमा राम्रै अवसर र चर्चा पनि पाए । कोहीले अवसरलाई निरन्तरता दिए कोही भने बीचमै इदको चन्द्रमा झैँ भए । आजको दिनसम्म आइपुग्दा थोरै मात्र अनुहार चलिरहेका छन् । 

म्युजिक भिडियोबाट फिल्मसम्मको यात्रा तय गर्न सहज नभए तापनि केहीले भने यही क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाइराख्न आँट गरेका छन् । तर, उनीहरूको फिल्मी यात्राले आउँदा दिनमा के कस्तो जादू चलाउला वा थप अवसरका लागि यो क्षेत्रै छाडेर पलायन हुने हुन् त्यो भने अहिले नै अनुमान लगाउन छिटो हुन्छ । 



टिकटकबाट म्युजिक भिडियो हुँदै फिल्मसम्मको यात्रा तय गर्नेमा एउटा राम्रो उदाहरण बनेकी छिन, गरिमा शर्मा । उनको दुवै हातमा लड्डु छ भन्दा पनि केही फरक नपर्ला । उनलाई न म्युजिक भिडियोको अभाव छ न त फिल्मको नै । हाल उनी फिल्म ‘ह्रस्व–दीर्घ’को छायांकनमा निकै व्यस्त छिन् ।

उनले, फिल्म ‘लण्डन टु पेरिस’को छायांकन सके पनि सो  फिल्म कहिलेबाट रिलिज हुन्छ पक्का भएको छैन । यसैले, दर्शकले उनको काम हेर्न पाएका छैनन् । यस्तै, उनले फिल्म ‘दौँतरी’ पनि साइन गरिसकेकी छिन् । यो फिल्म पनि कहिलेबाट रिलिज हुन्छ पक्का छैन । 



त्यस्तै, अर्की टिकटकर मिस पबी पनि फिल्ममा देखिने भएकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमा चर्चा बटुलेकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए । उनले अभिनय गर्ने फिल्म ‘राजमहल’को पनि निर्माण घोषणा भएको छ ।

फिल्ममा आँचल शर्मा केन्द्रीय भूमिकामा भएकाले मिस पबीले आफूलाई अझै सशक्त रुपमा दर्शकमाझ आफूलाई प्रस्तुत गर्न आवश्यक छ । 

यस्तै, यही फिल्मबाट पनि टिकटकर सिम्रन पन्तले पनि अभिनयमा डेब्यु गर्दै छिन् । यी टिकटकरहरूले फिल्ममा अवसर पाए पनि उनीहरू अभिनीत फिल्म हलमा नआएसम्म उनीहरूको काम र करिअरको ग्राफको मूल्यांकन गर्न गाह्रो नै पर्छ । 

  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार १६:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया