logo-img

गुणस्तर मापन नभएका सेनिटरी प्याडका लागि बाहिरिन्छ अर्बौं रकम

नेपालमा चीन, भारत डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकालगायत मुलुकबाट सेनिटरी प्याड आयात हुन्छ । प्याड गोटा र किलोमा आयात हुन्छ भने ट्याम्पोन र मिन्स्ट्रुअल कप वटामा आयात हुन्छ । विभिन्न मुलुकबाट आयात हुने प्याडलाई भन्सार कार्यालय हुँदै नेपाली बजारमा प्रवेश गराइन्छ । 

त्यसो त नेपालमा हाल ४० भन्दा बढी सेनिटरी उद्योग छन् । जसले बर्सेनि ३० करोड (पिस) प्याड उत्पादन गर्छन् । साथै, छिमेकी देश भारतबाट पनि बर्सेनि १० करोड (पिस) प्याड आयात हुँदै आएको छ । विडम्बना के छ भने नेपाली बजारमा पाइने प्याडको हालसम्म पनि गुणस्तर मापन हुन सकेको छैन । परीक्षण बेगर नै विभिन्न कम्पनीद्वारा उत्पादित सेनिटरी प्याड नेपाली महिला प्रयोग गर्न बाध्य छन् ।

भन्सार विभागमार्फत बर्सेनि भित्रिने करोडौँ मूल्यका सेनिटरी प्याडको गुणस्तर मापन विभागले गर्दैन । सेनिटरी प्याडको गुणस्तर मापन गर्ने अधिकार भन्सार विभागलाई नभएको बताउँछन्, विभागका सूचना आधिकारी पुण्यविक्रम खड्का । ‘भन्सारमा के–कति मात्रामा कुन सामान भित्रिए, त्यसको परिणामको तथ्यांक राखिन्छ । विभागलाई सेनिटरी प्याडको गुणस्तर मापन गर्ने अधिकार पनि छैन,’ उनले भने । 



औषधि वा औषधिजन्य उपकरण आयात हुँदा भन्सार कार्यलयमै त्यसको गुणस्तर परीक्षण गर्ने गरिएको छ । तर, महिलाको स्वास्थ्यसँग जोडिएको सेनिटरी प्याडको भने भन्सार विभागले परीक्षण गर्दैन । कस्तो आयो भन्दा पनि कति मात्रामा आयो भन्ने मात्रै आफूले हेर्ने विभागको भनाइ छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ ।
सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को स्थानीयस्तरमा उत्पादित स्यानिटरी प्याडको न्यूनतम मापदण्डमा सेनिटरी प्याडमा प्रयोग हुने कपडा सुती वा मलमलको हुनुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्ने, प्याडको गुणस्तरका लागि ९५ प्रतिशत सुती हुनुपर्ने, कपडा अड्काउन प्रयोग हुने खोलमा प्रयोग हुने कपडा कम रङ, कम ड्राई प्रयोग भएको र सोसिने किसिमकोे हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, खोलको बनावट पिँधबाट नचुहिने गरी तयार गर्नुपर्ने र खोलमा प्रयोग हुने टाँक वा अन्य सामग्री र बनावट प्रयोगकर्तालाई सहज हुने किसिमको हुनुपर्ने उल्लेख छ । तर, देशभरका धेरै विद्यालयले कमसल सामग्री प्रयोग भएको प्याड उपलब्ध गराएको गुनासो आउने गरेको छ ।



छात्राहरूले सेनिटरी प्याडबारे गुनासो गरिरहँदा स्थानीय निकाय भने मौन धारण गरेर बसेको पाइन्छ । कतिपयले एकैपटक धेरै सेनिटरी प्याड किन्ने र वर्षौंसम्म त्यसैलाई वितरण गर्ने गरेको पनि देखिएको छ । जसकारण एकपटक कमसल खालको सेनिटरी प्याड आए पनि अर्कोपटक गुणस्तरीय प्याड वितरणमा समस्या देखिन्छ । जोशीपुर गाउँपालिका कैलालीकी उपप्रमुख रेखादेवी कठरियाले कम गुणस्तरको सेनिटरी प्याड आयो भनेर विद्यालयका छात्राले गुनासो गरिरहेको स्विकार्छिन् । 

उनी भन्छिन्, ‘गत वर्ष गाउँपालिकाले खरिद गरेको सेनिटरी सकिएको छैन । यो वर्ष पनि पुरानै सेनिटरी प्याड वितरण भइरहेको छ । जहाँसम्म खरिद प्रक्रियाको कुरा छ, त्यो सरकारले बनाएको मापदण्डअनुरूप नै खरिद गरेर ल्याइन्छ ।’ उनले सेनिटरी प्याड कमसल खालको आएको थाहा भए पनि आफूलाई कुन कम्पनी उत्पादन गरेको ल्याइएको भन्नेबारेमा भने केही जानकारी नभएको बताइन् ।



जोशीपुर गाउँपालिका एक उदाहरण मात्र हो । यो जस्तै अन्य गाउँपालिका र नगरपालिकाको अवस्था पनि उस्ता–उस्तै रहेको सरोकारवाला बताउँछन् । हाल नेपालमा ठूला साना गरी ४० वटा सेनिटरी प्याड उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगमा झण्डै ६ अर्ब लगानी भएको छ । उक्त प्याड उद्योगहरूले ९० करोड थान स्यानिटरी प्याड उत्पादन गर्ने क्षमता राख्दछन् । नेपालमा एक वर्षमा ३० करोड थान सेनिटरी प्याड खपत हुँदै आएको छ । नेपाली उद्योगहरूको मागभन्दा ६० करोड थान बढी प्याड उत्पादन गर्ने क्षमता रहेको छ ।

स्वदेशी उत्पादनलाई हेलचेक्र्याइँ

तर, सरकारले आयातीत सेनिटरी प्याडको करमा भारी छुट दिएसँगै नेपाली उद्योग संकटमा पर्न थालेको सरोकारवाला बताउँछन् । आयातीत आव ०७९/८० को आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सेनिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।

यता, नेपाली उद्योगलाई प्याड बनाउँदा लाग्ने कच्चा सामग्रीमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था बजेटले गरेको छ । तर, प्याड निर्माणमा आवश्यक पर्ने प्रत्येक कच्चा सामग्रीमा छुट्टाछुट्टै कर लाग्ने गरेको छ । प्याड बनाउनका लागि आठ प्रकारका कच्चापदार्थ लाग्ने गरेको सेनिटरी प्याड उत्पादन संघले जनाएको छ ।

नेपाली बजारमा स्वदेशमै उत्पादन हुने सेनिटरी प्याड प्रशस्तै छन् । यस्तै, विदेशबाट आयत हुने पनि थरीथरीका छन् । तर, सेनिटरी प्याडको गुणस्तर मापन गर्ने कुनै निश्चित आधार नहुँदा भने सबैतिर अन्योल छ । सरकारले अहिलेसम्म कुनै पनि निकायलाई सेनिटरी प्याडको गुणस्तर मापन गर्ने जिम्मा नदिएको सरोकारवाला बताउँछन् । 

गुणस्तरहीन सेनिटरी प्याड प्रयोगका कारण यौनांगमा संक्रमण भएर आउने महिलाको संख्यामा वृद्धि भएको भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृति पाल बताउँछन् । उनका अनुसार सेनेटरी प्याड गुणस्तर नहुँदा महिलामा यौनांग चिलाउने, दुख्ने, स–साना बिबिरा आउने र संक्रमण हुने गरेको पाइएको छ । ‘यसले गर्दा छाला, यौनांग र पाठेघरमा दीर्घकालीन संक्रमण हुने जोखिम महिलामा हुन्छ’, डा. पाल भन्छन्, ‘महिलाको प्रजनन र यौन स्वास्थ्यमा यसले असर गर्छ ।’

प्याडको नाममा बाहिरिन्छ अर्बौं रुपैयाँ 

सेनिटरी प्याड खरिदका लागि बर्सेनि अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । चालू आर्थिक वर्ष कात्तिक मसान्तसम्म ४० करोड ८३ लाख ६७ हजार सेनिटरी प्याड आयात गरिएको छ । गत आर्थिक वर्ष ०७९/८० ९१ करोड ७९ लाख २० हजार सेनिटरी प्याड आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

विभागको तथ्यांकअनुसार आव ०७८/७९ मा एक अर्ब ११ करोड १३ लाख १४ हजार रुपैयाँबराबरको १२ करोड ९१ लाख ९४ हजार ७२१ थान सेनिटरी प्याड नेपाल भित्रिएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७७/७८ मा एक अर्ब १७ करोड ७० लाख ८५ हजार रुपैयाँबराबरको प्याड आयात भएको भन्सार विभागले जनाएको छ । आव ०७६/७७ मा २ अर्ब १८ करोड ४८ लाख ९ हजार रुपैयाँबराबरको प्याड आयात भएको विभागको तथ्यांकमा देखिन्छ ।

  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार १७:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया