logo-img

भूकम्पका लाभग्राही ८० हजार पुग्ने प्राधिकरणको अनुमान

जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजारभन्दा बढी लाभग्राही कायम भएकामा पछिल्लो अद्यावधिक तथ्याङ्कमा झन्डै ९ हजार थपिएका हुन् । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि ४ हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।



प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय आठ, सल्यानमा १ हजार सात सय ३०, बझाङमा ४ हजार ५ सय ७६ र बाजुरामा २ हजार ७ सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए ।

लाभग्राहीको सङ्ख्या बढिरहेसँगै उनीहरूका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि २ अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ ।  

अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा ४ अर्ब ७५ करोड रुपैयाँ आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ । 



जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिकमा गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्‍याएको थियो ।अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ । रासस



  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १३:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया