logo-img

कोरोना भाइरसको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त भेरियन्ट भारतको केरलामा पुष्टि भएको हो । नेपालको छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि एक किसिमको तरंग पैदा भएको छ । 

भारतमा कोभिड–१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । भारतमा यो भेरियन्ट पहिलोपटक २२ मंसिरमा कारकुलमामा पुष्टि भएको थियो । 

भारतमा कोरोनाका केस बढेपछि नेपालमा पनि संक्रमण फैलिनसक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् । 



‘भारतमा देखिएपछि नेपालमा पनि ढिलो–चाँडो आइपुग्छ । यो भाइरस कतिको संक्रामक छ भन्ने पनि भर पर्छ,’ उनले भने, ‘अहिलेसम्म यसबारेमा आएको जानकारीअनुसार यो भाइरसको जटिलता कम छ भन्ने छ ।’

उनका अनुसार जटिलता कम भएको भनिए पनि दीर्घरोगी तथा वृद्धवृद्धालाई भने सताउन सक्ने भएकाले सर्तकता अपनाउनु पर्छ । कोरोनाविरुद्धको खोप नलगाएको भए तुरुन्त खोप लगाउनुपर्छ । एकपटक कोरोनाविरुद्धको खोप लगाइसकेका व्यक्तिले खोपको दोस्रो मात्रा लगाउन उनले सुझाए । 

यस्तै, जनस्वास्थ्यविद् डा. शरद वन्तले पनि सामाजिक दूरी कायम गरी कोरोना भाइरसबाट जोगिनुपर्ने बताए । ‘अहिले देखिएको जेएन–१ लाई ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ,’ डा. वन्तले भने, ‘यसले जटिलता निम्त्याउने सम्भावना कम रहेको आकलन गरिएको छ । तर, हामी ढुक्क भएर लापरवाही हुनुहुँदैन । कोरोना भाइरस संक्रमणबाट बच्न अपनाइने सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ ।’ 



‘सामान्यतया ज्येष्ठ नागरिक र दीर्घरोगीलाई रुघाखोकी मात्रै लाग्यो भने पनि जोखिम हुन्छ । त्यसैले दीर्घरोगी अलिक सचेत हुनुपर्छ,’ डा. वन्तले भने ।

डा. वन्तका अनुसार जेएन–१ धेरै घातक नरहेको समाचार बाहिरहेका छन् । हालसम्म लगाएका कोरोनाविरुद्धको खोप लगाएकोले यसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने अध्ययन भइरहेको छ । त्यसैले जेएन–१ बारेमा सुनिश्चितता नहुँदासम्म सबैले सर्तकता अपनाउनुपर्ने उनको भनाइ छ ।



संसारभर कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएर कोलाहल मच्चाएको थियो । र, त्यसको असर पनि ठू्लो थियो । भारतमा कुनै पनि संक्रमण देखिनासाथ त्यो नेपाल छिर्न समय लाग्दैन । यसअघि पनि भारतमा कोभिड संक्रमण देखिएको एक सातादेखि एक महिनाभित्र नेपालमा कोरोना कहर देखिएको थियो । भारतका विभिन्न स्थानमा जेएन–१ भेरियन्ट देखिरहँदा नेपालमा भने कुनै अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । 

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेएन–१ भेरियन्टलाई लिएर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हालसम्म नेपालमा सो भेरिएन्ट देखिएको छैन । डराउनु भएन, तर सतर्कता भने अपनाउनुपर्यो । कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाइने स्वास्थ्यका मापदण्ड पालना गरियो भने जेएन–१ भेरियन्टको संक्रमणबाट सजिलै बच्छौँ ।’

भारतमा फैलिँदै जेएन–१ 

भारतीयमा मंगलबारसम्म ६ सय २८ जनामा कोभिड–१९ पुष्टि भएको छ । हाल उपचार गराइएका संक्रमितको संख्या ४ हजार ५४ जना रहेको छ । यसका साथै संक्रमणका कारण केरलामा एकजनाको मृत्यु भएको छ । 

जेएन–१ भेरियन्ट भारतका विभिन्न राज्यमा फैलिसकेको भारतीय स्वास्थ्य अधिकारीले जनाएका छन् । भारतमा हालसम्म छवटा राज्यमा जेएन–१ फैलिसकेको छ । त्यसैगरी भारतमा हालसम्म ६३ जनामा जेएन–१ भेरियन्ट पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी केस गोवामा पुष्टि भएको छ । गोवामा ३४ जना, महाराष्ट्रमा ९, कर्नाटकमा ८, केरलामा ६, तमिलनाडुमा ४ र तेलगांनामा २ जनामा जेएन–१ पुष्टि भएको छ । 

चिसोमा सर्तकता अपनाऊँ : डब्लुएचओ

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भेरियन्ट पहिलोपटक सेप्टेम्बरमा अमेरिकामा पत्ता लागेको थियो । यो कोरोनाको ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ हो । जेएन–१ अमेरिकामा सबैभन्दा छिटो फैलिने भेरियन्ट भएको सिडिसीले जनाएको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भन्दै विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा फैलने सम्भावना कम रहेको उल्लेख गरेको छ । यद्यपि, यसबारे बोल्नका लागि थप तथ्यांकहरू उपलब्ध भइनसकेको डब्लुएचओले जनाएको छ । 

डब्लुएचओका अनुसार जेएन–१ चिसो मौसम सुरु भएका देशमा फैलिन जोखिम रहेको समेत औँल्याएको छ । जेएन–१ भेरियन्ट हालसम्म विश्वका ४१ वठा देशमा पुष्टि भइसकेको डब्लुएचओले जनाएको छ ।

जेएन–१ भेरियन्ट चीन, फ्रान्स, स्विडेन, सिंगापुर, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्यान्डलगायत देशमा पनि देखिएको छ । डब्लुएचओले यसले ठूलो क्षति गराउने सम्भावना कम रहेको र कोभिडविरुद्धको भ्याक्सिनले काम गर्न सक्ने समेत जनाएको छ । तर, जाडो महिना भएकाले इन्फ्लुएन्जासँगै यो नयाँ भेरियन्ट फैलन सक्ने डब्लुएचओको चेतावनी छ । 
  
के हो जेएन–१ भेरियन्ट ? 

जेएन–१ सव भेरियन्ट पहिलोपटक अगस्टमा पुष्टि भएको थियो । यो ओमिक्रोनको सब भेरियन्टको बिए.२.८६ ले बनेको हो । सन् २०२२ को सुरुवातमा बिए.२.८६ ले कोरोना भाइरस संक्रमित हुनेको संख्या बढाएको थियो । बिए.२.८६ को स्पाइक प्रोटिनमा अतिरिक्त म्युटेसन भएको थियो । सोहीअनुरूप जेएन–१ पनि स्पाइक प्रोटिनको एक अतिरिक्त म्युटेसन हो । 

जेएन–१ रोगले प्रतिरक्षा प्रणाली बलियो भएका व्यक्तिलाई पनि संक्रमित बनाउन सक्ने भएकाले बेलैमा सतर्क रहनुपर्ने विशेषज्ञ बताउँछन् । 

  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार १७:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया