कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले गर्‍यो संविधान संशोधन गर्न माग

नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले संविधान संशोधन गर्न माग गरेको छ । संविधानमा रहेको धर्मसम्बन्धी व्यवस्था र निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै सम्मेलनले कांग्रेसले नेतृत्व लिएर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो । 

सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा संविधानमा रहेको ‘धर्म निरपेक्षता’को ठाउँमा ‘वैदिक सनातन धार्मिक स्वतन्त्रता’ राख्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग छ । त्यस्तो संशोधनको नेतृत्व कांग्रेसले गर्नुपर्ने सम्मेलनको निर्णय छ । 

प्रदेश सम्मेलनले पार्टीको विधानमा रहेका थुप्रै व्यवस्थाहरू संशोधन गर्नुपर्ने माग गरेको छ । पार्टी विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेख्नुपर्ने प्रस्ताव रहेको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । उनका अनुसार सम्मेलनले पार्टीका केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नुपर्ने माग गरेको छ । 

हाल कांग्रेसमा केन्द्रीय कार्यसमितिका सदस्यहरूले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ । गण्डकी सम्मेलनले भने विधानको त्यस्तो व्यवस्था खारेज गर्दै हरेक महाधिवेशनमा केन्द्रीय सदस्यहरू पनि वडादेखि नै निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने र निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।

‘एकपटक महाअधिवेशन प्रतिनिधि बनेर केन्द्रीय सदस्य बनेको नेता फेरि गाउँ फर्किँदैनन् । नेता र कार्यकर्ताको बीचमा दुरी बढ्यो,’ गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भने, ‘हामीले नेता र कार्यकर्ताका बीचको दुरी घटाउन यस्तो प्रस्ताव पास गरेका हौँ । अब यो विषय महासमिति बैठकमा लैजान्छौँ ।’

सम्मेलनले एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । पार्टीले नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टाचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, क्रियाशील सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने र प्रदेश संरचनाका टिकट प्रदेश समितिबाटै वितरण हुने गरी वैधानिक व्यवस्था गर्नुपर्ने सम्मेलनको निर्णय छ । 



पुस ३ र ४ गते प्रदेश राजधानी पोखरामा भएको सम्मेलनमा प्रदेशका ११ जिल्लाका कांग्रेस नेता कार्यकर्ता सहभागी थिए । सम्मेलनमा सभापति शुक्रराज शर्माले पार्टीको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने महामन्त्री किरणबावु श्रेष्ठले संगठनात्मक प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए । 

सम्मेलनले ती प्रतिवेदनहरू पारित गरेको छ भने सम्मेलनका निर्णयहरूलाई पार्टीको सम्पत्तिकारुपमा ग्रहण गरी महासमितिमा प्रस्ताव बनाउन आग्रह गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरमा हुँदै छ । महासमिति बैठकअघि जिल्ला र प्रदेशले सम्मेलन गरिरहेका छन् । लुम्बिनी, गण्डकी, बाग्मती र मधेसले प्रदेश सम्मेलन गरिसकेका छन् भने अब कोशी, कर्णाली र सुदूरपश्चिमले सम्मेलन गर्दै छन् । 



  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ११:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया