logo-img

अध्ययन र अभिनय दुवैमा अब्बल सुरक्षा

'साहित्य–संगीत–कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः'

अर्थात्, साहित्य, संगीत र कला नभएको मानिस सिङ र पुच्छरविनाको साक्षात् पशुजस्तै हो । संस्कृत साहित्यको यस श्लोकले भनेझैँ कला मानव जीवनको अभिन्न अंग हो । 

हरेक व्यक्तिभित्र लुकेको प्रतिभा हुन्छ । त्यो प्रतिभालाई उजागर गर्छ शिक्षाले । नेपालको चलचित्र क्षेत्रलाई लाग्ने आरोपमध्ये एक हो, यहाँ शिक्षित कलाकार नै छैनन् । तर, अहिले यो आरोप मिथ्या साबित हुन थालेको छ । पहिलेको तुलनामा नेपाली कलाक्षेत्रले अहिले थुप्रै शिक्षित कलाकार पाएको छ । तिनैमध्येकी एक हुन्, अभिनेत्री सुरक्षा पन्त । 



पेसाले सिभिल इन्जिनियर पन्त आफ्नो पढाइमा जति अब्बल छिन्, कलाक्षेत्रमा पनि त्यत्तिकै अब्बल छिन् । नेपाली फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल अभिनेत्रीहरूको सूचीमा उनी पहिलो नम्बरमा आउँछिन् भन्दा अत्युक्ति पक्कै नहोला । 

बुटवलमा जन्मिएकी सुरक्षा सानैबाट पढाइसँगै अतिरिक्त क्रियाकलापमा निकै सक्रिय थिइन् । बुटवलमा जन्मिए पनि सुरक्षाको पढाइ भने काठमाडौं आएपछि नै अघि बढ्यो ।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि चासो राख्ने उनी ‘इमेज भिजे हन्ट’ प्रतियोगितामा ‘टप थ्री’मा आइन् । पन्तको, फिल्मी करिअर त्यही प्रतियोगिताले निर्धारण गर्यो । सो प्रतियोगिताको ‘अडिसनको टेप’ हेरेपश्चात् सुरक्षालाई टेलिभिजन र फिल्मको प्रस्ताव आए । तर, अध्ययन गरिरहेकी उनले पढाइमा असर पर्ला भनेर जागिर र फिल्मको प्रस्ताव अस्वीकार गर्दै आइन् । तर, बारम्बार आएको  निर्देशक आलोक नेम्वाङको फिल्म प्रस्तावलाई भने सुरक्षाले टार्न सकिनन् । अन्ततः उनले नेम्वाङको प्रस्ताव स्वीकार गरिन् । 



उनको  फिल्मी करिअर आलोकद्वारा निर्देशित फिल्म ‘अझै पनि’बाट सुरु भएको थियो । सुरुवाती दिनमा सुरक्षा निकै अलमलमा परेकी थिइन् । सुरक्षाले फिल्मी बाटो राम्ररी ठम्याउन नपाउँदै आलोक नेम्वाङले आत्महत्या गरे । त्यसपश्चात् उनले  डेढ वर्ष ‘न्युज २४’, ‘सगरमाथा टिभी’ र ‘कान्तिपुर टिभी’काम गरिन् । जसले सुरक्षालाई क्यामरा फेस गर्नेदेखिलगायत धेरै कुरामा निखारता थपिदियो ।

उनीद्वारा अभिनीत सुस्केरा,  आमा, भैरे, धनपति, अझै पनि, के घर के डेरालगायत थुप्रै फिल्मलाई आमदर्शकले मनपराएका छन् । उनले आमा चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत हात परेकी थिइन् । 



उनको फिल्म धनपति ठिकै चले पनि सुरक्षा त्यति बेला निकै चलिन् । दीपेन्द्र के खनालको ‘आमा’मा अभिनय गर्दा उनले पात्रको जीवन्तताकै लागि आफ्ना लामो कपाल खौरेकी थिइन्, जसले उनलाई चर्चाको शिखरमा पुर्यायो । 

उनी अभिनीत फिल्म र कथा धेरैजसो महिला केन्द्रित हुने गर्छन् । आफूले निर्वाह गरेको भूमिकाले समाजमा परिवर्तनको सानो सन्देश मात्रै भए पनि छोड्नुपर्छ भन्ने कुरामा सुरक्षा सचेत छिन् ।
 
त्यति मात्र नभई सुरक्षाको अभिनय भएको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइन् । उनी कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनिन् । उनको त्यो बेलाको पहिरणले पनि निकै चर्चा बटुल्यो । लोकसेवा आयोगको प्रश्नमा पनि उनको यही प्रसंगमा चर्चा भएको थियो ।
 
हाल उनि नेपाली सिरिज ’खेल’को तयारीमा व्यस्त छिन । पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चारजना साथीहरूको कथा रहनेछ । सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दै छिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौंभित्र करिब एक महिना छायांकन हुनेछ ।

फिल्मी यात्रा सुरु गरेको छोटो समयमा नै आफूलाई अब्बल प्रमाणित गरिसकेकी सुरक्षाले आफ्नो कर्मलाई आगामी दिनमा अझै निखार ल्याउने अपेक्षा दर्शकले गरेका छन् । 

  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १७:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया