logo-img

पोखराको सेती खोचमा भएको विमान दुर्घटनामा चालक दलको के थियो कमजोरी ?

पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । गत वर्षको माघ एक गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जनाकै मृत्यु भएको थियो ।

प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोही कारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए । उनले दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुँइमा झरेको बताए । यसो हुनुमा मानवीय कारण दोषी मानिएको आयोगको ठहर रहेको उनले स्पष्ट पारे । 



प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । उक्त विमान दुर्घटना नेपाली आन्तरिक हवाई उडानको सबैभन्दा विनाशकारी दुर्घटना भएको बताए । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरू परिचालन गरी अध्ययन गरिएको समेत आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १७:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया