logo-img

फेरि एकसाथ देखिँदै दया-उपसाना, सफल होला ‘हात्तीछाप’?

नेपाली चलचित्रमा अहिलेका सर्वाधिक व्यस्त अभिनेता को हुन् ? भनेर चलचित्रकर्मीलाई सोध्दा सहजै जवाफ आउँछ– दयाहाङ राई । हुन पनि पछिल्लो समय यी अभिनेताको व्यस्तता ह्वात्तै बढेको छ । एकपछि अर्को फिल्मले नामसँगै दाम कमाएपछि दयाहाङको लोकप्रियताका साथै माग ह्वात्तै बढेको हो । माघदेखि असारसम्म अबको ६ महिनाको अवधिमा मात्र उनी प्रमुख भूमिकामा रहेका सातवटा चलचित्र प्रदर्शन हुँदै छन् । 

चलचित्रमा दयाको जोडी बाँधिने अभिनेत्रीहरूले पनि राम्रै चर्चा पाइरहेका छन् । तिनैमध्येकी एक हुन्, मिरूना मगर । उनले दयासँग तीनवटा फिल्ममा काम गरिसकेकी छन् । र, उनीहरू अभिनित तीनै चलचित्रले व्यावसायिकरूपमा पनि सफल भए । दया–मिरुनाको जोडीलाई दर्शकले पनि राम्रै साथ दिए । 

यस्तै, चलचित्रमा दया र उपासना सिंह ठकुरीको जोडी पनि दर्शकको रोजाइमा पर्दै आएको छ । यो जोडीले ‘कबड्डी–३’ जस्तो सुपरहिट फिल्म दिएको छ । उक्त फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेपछि दया–उपासनाको चर्चा थप चुलियो । त्यसपछि यो जोडीलाई फिल्म ‘२ नम्बरी’ मा पनि देख्न पाइयो । फेरि दया–उपासनाको जोडीलाई चलचित्रमा हेर्न पाउने दर्शकको धोको पूरा हुँदैछ । त्यो धोको दर्शकले ‘हात्तीछाप’ चलचित्रमार्फत पूरा गर्नेछन् । विगतमा नामसँगै दाम पनि राम्रै कमाएको यो जोडीलाई ‘हात्तीछाप’ भने फाप्छ वा फाप्दैन, त्यो हेर्नलायक हुने छ ।



यस चलचित्रमा दया र उपसानाका साथै सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, बास्तोलालगायतको पनि अभिनय रहनेछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्वाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ भने  कोरियोग्राफी  रामजी लामिछानेको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म आउँदो २६ माघमा रिलिज हुँदै छ । 





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १५:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया