एक सातापछि बिदा भए नवदुर्गा नृत्यका देवगण

भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोल–टोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ ।

मध्यपुरथिमिमा यही ११ पुसदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिएको थियो । अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए । 

नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुखुण्डोलगायत तान्त्रिक विधिअनुरूप नाच्ने गर्दछन् । नवदुर्गा नाचमा साक्षात् नवदुर्गा देवी प्रकट हुने जनविश्वास  छ । 

नवदुर्गा देवगणलाई नृत्य प्रदर्शनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ । एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नृत्य प्रस्तुत गरेको थियो । रासस 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १०:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया