किन गुमनाम छिन् विष्णु माझी : रहर कि बाध्यता ?

जेलैमा हो जेलैमा चरी जेलैमा....

यो चर्चित गीत नसुन्ने नेपाली सायदै कोही होला, यस गीतको आवाजको सुमधुरताले मात्रै होइन, यसमा प्रयोग भएका शब्दले पनि दर्शक–श्रोतालाई अहिले पनि मन्त्रमुग्ध बनाइरहन सफल छ । 

यस गीतमा रहेको सुमधुर स्वर अरू कसैको नभएर चर्चित लोकप्रिय दोहोरी गायिका विष्णु माझीको हो । कसैले यो गीत उनै माझीको जीवनसँग मेल खाने गीतका रूपमा अथ्र्याएका छन् भने कतिले त गीत सुनेर यस गीतका सर्जक अर्थात् विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीलाई गालीको वर्षा पनि गरिरहेका छन् । 

विष्णु माझीको मोहनी लगाउने आवाजको सधैँ चर्चा हुने गर्छ, तर उनको वास्तविक जीवनबारे भने आमदर्शकश्रोता अनभिज्ञ छन् । झण्डै दुई दशकअघिसम्म विभिन्न दोहोरी गीत मात्र होइन, लाइभ दोहोरीमा पनि देखिँदै आएकी माझी सुन्दरमणिसँग विवाह गरेयता गुमनामजस्तै छिन् । 

सञ्चारमाध्यम र सामाजिक सञ्जालले यति धेरै व्यापकता पाइरहे पनि आमदर्शकश्रोता र शुभचिन्तकले माझीलाई न देख्न पाएका छन् । न त बोली नै सुन्न नै पाएका छन् । सुन्न पाएका छन् त मुस्किलले वर्षमा एक–दुईवटा गीतमार्फत, त्यो पनि होमप्रोजेक्टका । 

सानातिना कलाकारको त छ्यापछ्याप्ती अन्तरवार्ता भेटिने समयमा उनको भने नामोनिशान पनि भेटिँदैन । न उनी आजसम्म कुनै सञ्चारमाध्यममा देखापरेकी छिन् न त कुनै सामाजिक सञ्जालमा नै सक्रिय छिन् । लाग्छ, उनी गुप्तवास नै बसेकी छिन । सञ्चारमाध्यम र सामाजिक सञ्जाल त परको कुरा उनले गाउनले गीतहरूमा पनि एक दशकदेखि एउटै फोटो प्रयोग हुँदै आएको छ । यदाकदा युट्युबमा उनले गाएका लाइभ दोहोरीका क्लिप्स पनि भेटिन्छन् । 



गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।

काठमाडौंको बिजुलीबजारमा उनका श्रीमान् सुन्दरमणिले घर किनेका छन् । विष्णु पनि त्यही घरमा बस्छिन् भन्ने सुनिन्छ । तर, घरैमा पुगेर उनलाई देख्नेहरू पनि कमै छन् । कसैले देखे पनि उनको दिनचर्याबारे मुख खोल्न कोही चाहँदैनन् । यतिसम्म कि बिहेपछि उनी आजसम्म आफ्नै माइतीघर पनि फर्केकी छैनन् । 



उनको जीवनको बारेमा कुरा गर्दा सधैँ एउटा मात्र हल्ला चल्ने गर्छ, विष्णु माझी उनका श्रीमान् सुन्दरमणिको रिमोट कन्ट्रोलमा मात्रै चल्छिन् । कसैले उनलाई गीतका लागि प्रस्ताव गर्यो भने पनि सुन्दर आफैँ डिल गर्छन् र पैसा पनि आफैं लिन्छन् । सुरुमा एउटा गीतको ६ हजार, त्यसपछि १५ हजार, पचास हजार हुँदै अहिले विष्णु माझीलाई एउटा गीत गाउन लगाउँदा तीन लाखसम्म तिर्नुपर्ने एक लोकसर्जक बताउँछन् । त्यो पनि सुन्दरमणिको ‘डिल’ र अनुमतिमा । 

विष्णुलाई बन्धक बनाएर राखेको खबरले अहिले पनि बेलाबेलामा बजार तताउने गर्छ । तर, सुन्दरमणिले न त्यसमा प्रतिक्रिया दिन्छन् न त आफूमाथि लागेका आरोपको प्रतिवाद नै गर्छन् । बरु उनी आफैँ पनि निश्चित व्यक्तिबाहेक कसैको फोन पनि उठाउँदैनन् । 
  
केहीअघि कवि तथा लेखक बादल घिमिरेले माझीबारे फेसबुकमा लेखेको एउटा स्टाटसले लोकसंगीतक्षेत्र नै तरंगित बन्यो । जसमा उनले विष्णुको वास्तविकता बाहिर ल्याउन खोज्दा आफूमाथि अपरिचित व्यक्तिहरूबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका थिए ।

तर, एक अनुसन्धानमा माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन् । हरेकपटक जब उनको नयाँ गीत सार्वजनिक हुन्छ, त्यहीबेला उनको फेरि खोजी हुन थाल्छ । मानिसहरूमा उनको जीवनलाई लिएर जिज्ञासा झन्–झन बढ्न थाल्छ । नम्बर १ लोकगायिका भएर पनि दर्शक–श्रोता र शुभचिन्तकले  उनलाई भेट्न त परको कुरा राम्रोसँग तस्बिर पनि देख्न पाएका छैनन् । लोकले कहिले देख्न पाउँछ लोकप्रिय गायिकालाई ?

  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १६:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया