निजामती सेवा ऐन तत्काल कार्यान्वयन गर्नुपर्छ : नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संघीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् । 

नेपाल निजामती कर्मचारी संगठन पर्वतको जिल्ला परिषद् तथा प्रशिक्षण कार्यक्रमलाई आज पर्यटकीय गाउँ भुकदेउरालीमा सम्बोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्या पैदा हुँदै गएको धारणा राखे । 

उनले सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिए । उनले निजामती सेवा तथा शिक्षा ऐनलगायतका विधेयक पारित नहुँदा संघीयता कार्यान्वयनमा समस्या भएको बताए । 

‘आमकर्मचारीको मनोबल बढाउनका लागि पनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ, उनले भने । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप संघीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण हुन नसक्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो । 

पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेले सबै पदमा उम्मेवार उठाउने बताए । राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै कसैको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने दाबी गरे । 

एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले ०८१ साललाई शुद्धीकरण वर्षका रूपमा मनाउन तयारी गरेको बताए ।



कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संघीय निजामती ऐन पारित गर्न सरकारले आनाकानी गरेको आरोप लगाए । उनले कर्मचारी आमनागरिकका सेवक भएको बताउँदै नागरिकलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्नसमेत आग्रह गरे । 

स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई राज्यले उचित सम्बोधन गर्न नसकेको बताए । 



  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १८:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया