चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ मा नयाँ अनुहार

निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन् । शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए । 

‘अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ’, निर्देशक श्रेष्ठले भने, ‘मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरूले गर्दैनन् ।’

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए । ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु’, निर्देशक श्रेष्ठले भने । उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे । नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुन लागेको बताए । 

‘मैले मण्डला थिएटरमा झन्डै १३ बढी नाटक गरिसकेँ। सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु’, अभिनेता श्रेष्ठले भने, ‘म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।’ 

अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताए । ‘मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु’, अभिनेत्री बुढाथोकीले भने । 

चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिए । ‘मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ । निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ’, निर्माता बुढाथोकीले भने । 



कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित थिए । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गरेका छन् । 

 चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।



  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १०:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया