logo-img

पूर्वराष्ट्रपतिको भूमिकाबारे रविले उठाए प्रश्न : सेरेमोनियल राष्ट्रपति कार्यकारी भूमिकामा देखियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकका राष्ट्रपति कार्यकारी भूमिकामा देखिएको टिप्पणी गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएर गएको विधेयक संविधानविपरीत रोकेको दृष्टान्त पेस गर्दै उनले संविधानले सेरेमोनियल भने पनि राष्ट्रपति कार्यकारीको भूमिकामा देखिएको बताए । 

आइतबार संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका भाग लिँदै सभापति लामिछानेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्था विपरीत कार्यकारी भूमिकामा आउने नदिने खालको प्रावधान संविधानमा नै व्यवस्था गर्नुपर्ने बताए । राष्ट्रपतिलाई संविधानविपरीत चल्न नदिने प्रावधान संविधानमा भए मात्रै संघीय संसदको दुवै सदनबाट पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ थियो ।

‘संसदको दुवै सदनले पारित गरेर पठाएपछि राष्ट्रपतिले त्यसलाई स्वीकार गर्ने हो । त्यसलाई लालमोहर लगाइदिने हो भनेर भनिएको छ । तर नगरेमा के त ? हामीसँग व्यवस्था छैन,’ उनले भने, ‘त्यही नभएका कारणले हाम्रो संविधानले परिकल्पना गरिएको भनिएको राष्ट्रपतिचाहिँ लगभग सेरेमोनियल हो । तर, सेरेमोनियल देखिएन, एक्जुकेटिभ देखियो ।’

सभापति लामिछानेले संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यहरु अनिवार्य रूपमा उपस्थिति हुने प्रावधानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १६:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया