logo-img

अमेरिकाले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ मा सरकार मौन, कस्तो पर्ला पर्यटनमा असर ?
अमेरिकाले औँल्यायो नेपालमा राजनीतिक हिंसाको सम्भावना

कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कन थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२३ मा मात्रै १० लाख १४ हजार आठ सय ८५ पर्यटक नेपाल घुम्न आएका छन् । जुन संख्या कोरोनापछि हालसम्मकै सबैभन्दा धेरै हो । 

कोरोना माहामारीका कारण २०२०, ०२१ र ०२२ मा नेपाली पर्यटन मात्र नभई विश्व पर्यटन क्षेत्रमै ठूलो धक्का लागेको थियो । तर, कारोना संक्रमणको जोखिममा कमी आएसँगै पर्यटक आगमन हुँदा धेरैजसो पर्यटकीय क्षेत्रका ट्रेकिङ, होटल, होमस्टे, मनोरञ्जनसहितका पर्यटकीय गतिविधि चलायमान भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै पर्यटन तथा होटल व्यवसायी पनि उत्साहित भइरहेका छन् । 



तर, कोरोनाले तंग्रिँदै गएको पर्यटन क्षेत्रमा संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि हालै जारी गरेको नेपालसम्बन्धी ‘ट्राभल एड्भाइजरी’ले पर्यटन व्यवसायी निराश बनेका छन् । अमेरिकाले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने विज्ञको भनाइ छ । त्यसले गर्दा नेपालको तग्र्रिँदै गरेको पर्यटन क्षेत्रमा नकारात्मक असर पनि पर्न सक्ने देखिन्छ । 

अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा के छ ?

अमेरिकी विदेश मन्त्रालयले यही १८ डिसेम्बर मा ‘ट्राभल एड्भाइजरी’ जारी गरेको थियो । जसमा भिन्न किसिमको राजनीतिक हिंसाका कारण नेपालमा यात्रा गर्न सावधानी अपनाउन सुझाव दिएको छ । ‘शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छ ।  नेपाली अधिकारीहरूले बल पनि प्रयोग गर्न सक्छन्,’ ट्राभल एड्भाइजरीमा भनिएको छ । 



यदि नेपाल भ्रमण गर्न चाहने हो भने प्रदर्शन र भीडबाट बच्न पनि आफ्ना नागरिकहरू सचेत गराएको छ । साथै, उक्त एड्भाइजरीमा ट्रेकिङ जाँदा वा पर्वतारोहण गर्दा एक्लै नजान भन्दै नेपालको आधिकारिक राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र ट्रेकर्सलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्न पनि अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशको सुरक्षालगायत अवस्थाहरूको विश्लेषण गरेर आफ्ना नागरिकलाई यस्तो सुझाव दिने गरेको छ । 

मन्त्रालयले लेभल १, २, ३, ४ को एड्भाइजरी गरेको छ । विदेश मन्त्रालयको वेबसाइटमा जारी गरेको विवरण अनुसार लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा आफ्ना नागरिकलाई भ्रमण नै नगर्न सूचित गरेको छ । 



त्यस्तै, लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न भनेर सचना जारी गरिएको छ भने लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भने नागरिकलाई सतर्कता अपनाउन र लेभल १ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन भनेको छ । नेपाल उसले जारी गरेको एड्भाइजरीको लेभल २ मा परेको छ । तर, नेपालमा भने अहिले हिंसात्मक प्रकृतिको कुनै आन्दोलन भएको छैन । मन्त्रालयले नेपालस्थित अमेरिकी राजदूतावास र यहाँस्थित अमेरिकी संयन्त्रहरूले दिएको जानकारी र सूचनाका आधारमा यस्तो एड्भाइजरी जारी गर्ने गरेको छ । 

नेपाल घुम्न आउने अमेरिकन पर्यटक कति छन् ?

पछिल्लो समय अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । विगतमा नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको थियो । तर, पछिल्लो समय भने नेपालमा आउने धेरै पर्यटकमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक रहेका छन् । 

सन् २०२३ मा पनि चीनलाई उछिन्दै अमेरिकी देश दोस्रो बन्यो । सो अवधिमा अमेरिकाबाट एक लाख तीन सय ५७ जना पर्यटक नेपाल आएका छन् । यस्तै, सन् २०२२ मा ७७ हजार ८५, २०२१ मा २२ हजार आठ सय ५३ जना पर्यटक नेपाल आउँदा सन् २०२० मा १७ हजार सात सय ६७ जना अमेरिकी पर्यटक नेपाल भएका थिए । यता, सन् २०१९ मा अमेरिकाबाट ९३ हजार दुई सय ४१ जना पर्यटक आएका थिए । 

यसरी तथ्यांकलाई आधार मान्दा पछिल्लो समय नेपाल आउने पर्यटकमध्ये अमेरिकी पर्यटकको संख्या ठूलो छ । अमेरिकी मन्त्रालयले जारी गरेको ‘ट्राभल एड्भाइजरी’लाई गम्भीर रूपमा लिए त्यसको प्रत्यक्ष असर नेपाली पर्यटनमा देखापर्ने विज्ञको भनाइ छ । 

कस्तो पर्ला पर्यटनमा प्रभाव, के भन्छन् व्यवसायी ? 

अमेरिकाले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ले नेपाली पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)ले जनाएको छ । टानका महासचिव विनोद सापकोटाका अनुसार एड्भाइजरीले पर्यटक आगमन स्वतः घट्नेछ । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या ठूलो छ । अमेरिकी नागरिकले त्यहाँको सरकारले जारी गर्ने यस्ता एड्भाइजरीलाई गम्भीर रूपमा लिने भएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटनमा देखापर्ने उनी बताउँछन् ।

‘१८ डिसेम्बरमा अमेरिकाको विदेश मन्त्रालयले नेपालमा राजनीति द्वन्द्व हुन सक्ने भन्दै सकेसम्म घुम्न नजान र गइहाले पनि सजग रहन भन्दै एड्भाइजरी जारी गरेको छ,’ महासचिव सापकोटा भन्छन्, ‘आफ्ना नागरिकको सुरक्षामा चासो देखाउनु र सचेत गराउनु अमेरिकी सरकारका लागि स्वाभाविक कुरा हो । तर, त्यसको प्रत्यक्ष असर नेपाली पर्यटनमा पर्ने देखिन्छ । किनकि अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या ठूलो छ । पछिल्लो समय बर्सेनि बढ्दो पनि छ ।’ 

लामो समयदेखि नेपाल घुम्न आउने योजना बनाइरहेका पर्यटकलाई एड्भाइजरीले फेरि एकपटक सोच्न बाध्य पार्ने उनी बताउँछन् । भन्छन्, ‘एड्भाइजरीले अन्तराष्ट्रिय रूपमा नेपालको अवस्था ठिक नभएको सन्देश दिन्छ । यसले नेपाल आउने योजना बनाएका अमेरिकी नागरिकमा अन्योल सिर्जना गर्यो । अहिले न सडकमा हिंसा भएको छ न त कुनै विदेशीलक्षित गतिविधि नै भएका छन् । अमेरिकी नागरिक वा पर्यटकमाथि हमला पनि भएको छैन ।’ 
अहिले अवस्था सामान्य भएको बेलामा अमेरिकाले यस्तो एड्भाइजरी जारी गर्नु दुःखद् भएको उनी बताउँछन् । ‘द्वन्द्व कालमा त पर्यटकले नेपालमा सुरक्षित यात्रा गरेका थिए । हामीले त्यो वातावरण बनाएकै हौँ । र, उहाँहरू नेपाल आउनु पनि भएकै हो,’ उनी भन्छन्, ‘अहिले अवस्था सामान्य भएको बेलामा यस्तो सूचना जारी गर्नु अचम्मको कुरा पनि छ ।’

अहिलेको राजनीतिक घटनाक्रमले पर्यटक असुरक्षित नहुने टानका महासचिव सापकोटाको भनाइ छ । त्यसकारण निर्धक्कसँग नेपाल आएर घुम्न पनि उनी आग्रह गर्दछन् । ‘नेपालको राजनीतिक घटनाक्रमले पर्यटक असुरक्षित छैनन्, तर अमेरिकाले जारी गरेको एड्भाइजरीले असर पार्छ,’ उनी भन्छन् । उनका अनुसार अमेरिका र अन्य देशका पर्यटकमा धेरै फरक छ । प्रायः सबै देशका पर्यटकले कम खर्च गर्छन् । अन्य मुलुकका भन्दा अमेरिकी पर्यटकले बढी खर्च गर्छन् । 

‘इतिहासमा टुरिजम भनेको के हो भन्दा अमेरिकीहरू घुम्न आउने भन्ने एक खालको भनाइ पनि थियो,’ टानका महासचिव सापकोटा विगत सम्झँदै भन्छन्, ‘अमेरिकी पर्यटकको बसाइ कमै भए पनि उनीहरूले गर्ने खर्च बढी नै हुन्छ । उनीहरू केही नसोची खर्च गर्न रुचाउँछन् । उनीहरूको आम्दानी पनि बढी नै हुन्छन् ।’ खासगरी धेरै खर्च गर्ने पर्यटक नेपालको आवश्यकता हो । अन्यथा संख्या मात्रै बढेर केही नहुने उनी बताउँछन् । 

विशेषगरी अमेरिकी पर्यटक नेपाल आउँदा हेलिकोप्टर टुर, महँगा पाँचतारे होटलको प्रयोग गर्छन् । जसले गर्दा कारोबार पनि बढी हुन्छ । त्यसकारण अमेरिकी पर्यटकको संख्यामा कमी आउँदा प्रत्यक्ष असर पर्यटनमा पर्ने उनको तर्क छ । साथै उनीहरूको व्यवहार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा राम्रो हुन्छ । उनीहरू कसैलाई पनि अवरोध हुने काम गर्दैनन् । सानो स्वरमा बोल्ने र विनम्र रूपमा प्रस्तुत हुने उनी बताउँछन् ।
  
त्यसकारण टानले एड्भाइजरीलाई फेरि एकपटक पुनर्विचार गर्न पहल गर्ने उनी बताउँछन् । ‘केही दिनअघि एउटा राजनीतिक घटना पनि भयो । हुन त उस्तै त होइन र पर्यटकसँग सम्बन्धित पनि छैन,’ उनी भन्छन्, ‘तर, अहिले नै एड्भाइजरीमा प्रतिक्रिया जनाउन आवश्यक ठानेनौँ । केही दिनभित्रै उक्त एड्भाइजरीको विषयमा एकपटक फेरि पुनर्विचार गर्न हामी पहल गर्छौं ।’ जुन पर्यटक सिजन भन्दा अघि नै लागू हुनेगरी पहल गर्ने पनि उनी बताउँछन् । 

खासै प्रभाव पार्दैन, ‘रेस्पोन्स’ गर्न जरुरी पनि छैन : मन्त्रालय

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने अमेरिकाले जारी गरेको एड्भाइजरीले नेपाली पर्यटनमा प्रभाव नपर्ने जनाएको छ । अमेरिकाले आफ्ना नागरिकलाई नियमित जारी गर्ने एड्भाइजरी भएको भन्दै पर्यटन मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले त्यसले खासै ठूलो प्रभाव नपार्ने बताए । ‘यसले हाम्रो पर्यटनमा केही प्रभाव पार्दैन,’ उनी भन्छन्, ‘यो उनीहरूको नियमित समीक्षा हो । हरेक मुलुकले आ–आफ्ना देशका नागरिकको सुरक्षाका लागि गर्छन् । यो सामान्य प्रक्रिया मात्र हो ।’ 

उक्त एड्भाइजरीले नकारात्मक प्रभाव नपार्ने भन्दै उनी अहिले पनि अमेरिकी पर्यटक आगमनको संख्या धेरै रहेको बताउँछन् । भन्छन्, ‘सबैभन्दा धेरै पर्यटक आगमनमा अमेरिका दोस्रो राष्ट्र हो । ठूला–ठूला भिजिट पनि भइरहेकै छ । द्विपक्षीय सम्बन्ध पनि राम्रै छ । ठूलै समस्या भए त उनीहरूले मन्त्रालयमा छलफल गर्थे नै होला । त्यसकारण यसलाई ठूलो मुद्दा बनाउनुपर्ने आवश्यकता पनि छैन ।’  सामान्य कुरा भएका कारण मन्त्रालयले प्रतिक्रिया जनाउन आवश्यक नठानेर चुप लागेर बसेको पनि उनी बताउँछन् । 

‘यस विषयमा हामीलाई जानकारी छ,’ सहसचिव कार्की भन्छन्, ‘जानकारी हुँदाहुँदै पनि प्रतिक्रिया जनाउन हामीले आवश्यक ठानेनौँ । कतिपय कुराहरूमा प्रतिक्रिया जनाउनुभन्दा पनि शान्त बस्दा नै मुलुकलाई फाइदा हुन्छ भने शान्त नै बस्नु पनि पर्छ ।’ यसलाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै नेपालबारे निरन्तर रूपमा सकारात्मक कुरा फैलाउन आवश्यक रहेको पनि उनी बताउँछन् । 

भ्रमण दशकको पहिलो वर्ष : घोषणा भव्य, काम शून्य

  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १९:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया