अस्ट्रेलियामा हुने न्याभ कप क्रिकेटमा १७ नेपाली टिमले भाग लिने

अस्ट्रेलियाको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बहुप्रतीक्षित १९औँ न्याभ कप क्रिकेट प्रतियोगिता जनवरी १४ तारिखदेखि सञ्चालन गर्ने भएको छ ।

डोनेथ रिजर्भ रिजर्भयरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना हुने क्रिकेट प्रतियोगितामा १७ वटा समूहले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस्तै, न्याभले यसपटक पुरस्कारको राशि बढाउँदै करिब १० हजार डलर बराबरको पुरस्कार प्रदान गरिने समेत घोषणा गरेको छ । न्याभ कप आयोजक मूल समितिका संयोजक तथा संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले प्रथम पुरस्कार ५ हजार डलर, द्वितीय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहने जानकारी दिए ।

यस्तै, व्यक्तिगत पुरस्कार (म्यान अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट) लगायतमा धेरै पुरस्कार दिइने उप्रेतीले बताए । ​​म्याक्सीम्याक्स एजुकेसन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ समूहहरूले उपाधिको निम्ति प्रतिस्पर्धा गर्ने भएका हुन् ।

अध्यक्ष उप्रेतीले न्याभ कपको इतिहासमा अहिलेसम्मकै उच्च सहभागिता तय भएको बताए । उनले भने, ‘सहभागी क्रिकेट समूहमा भएको यो वृद्धिले भिक्टोरियामा रहेका नेपाली समुदायमा न्याभ कपको लोकप्रियता बढ्दै गइरहेको छ, न्याभ कप अब ब्रान्ड भइसक्यो ।’

यस्तै, मुख्य प्रायोजक म्याक्सीम्याक्सका निर्देशक शंकर धरेलले भिक्टोरियाका नेपाली तथा बहुँसांस्कृतिक समुदाय मात्र नभएर नेपालमा समेत न्याभ कपको महत्व र चर्चा बढ्दै गएको अवस्थामा आफूहरू पनि प्रमुख हिस्सा बन्न खोजेको बताए ।



‘न्याभ कपको बहुआयामिक महत्व रहेको छ, भिक्टोरिया मात्र नभएर यसको चर्चा नेपालमा समेत बढेको छ, यस बहुआयामिक क्रिकेट कपलाई सहयोग गर्नु हाम्रो एक दायित्व पनि हो’, उनले भने ।

पत्रकार सम्मेलनमा न्याभका कोषाध्यक्ष डा. यकेन्द्र तिम्सिनाले न्याभ कपलाई भव्यताका साथ सम्पन्न गर्नको निम्ति साथ दिने प्रायोजक, क्रिकेट क्लबहरू, सामाजिक संघसंस्था, मिडियालाई धन्यवाद दिए ।



उक्त अवसरमा छैठौं च्यारिटी कप पनि हुनेछ । उक्त कपमा संकलन भएको रकमले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गरी नेपालमा क्रिकेटको विकास र विकासमा टेवा पुर्याउने लक्ष्य रहेको न्याभले जनाएको छ । 

१० मार्चमा हुने ग्रान्ड फिनालेमा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी दीपेन्द्र ऐरी र कुशल मल्ललाई सद्भावना दूत नियुक्त गरिएको छ । फाइनलमा ऐरी र मल्लसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली क्रिकेटमा उल्लेखनीय योगदान पुर्याएकोमा अभिनन्दन गरिनेछ ।

न्याभ कप सम्पन्न गर्नको निम्ति नेपालस्थित अष्ट्रेलियाली दूतावास र नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरिएको जानकारी दिइयो ।   

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार ११:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया