जम्दै बालेन–हर्कको जोडी, के नयाँ पार्टी खोल्दै छन् ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच पहिलो भेट करिब ९ महिनाअघि भयो । काठमाडौं आएको मौकामा मेयर राईले कार्यकक्षमै पुगेर बालेनलाई भेटेका थिए ।

पहिलो भेटमा उनीहरूबीच विकास र सहकार्यका विषयमा छलफल भयो । त्यसअघि उनीहरूबीच सामाजिक सञ्जालमा छेडछाड चलेको थियो । आजभोलि भने यी दुई मेयरबीचको दोस्ती जमेको छ ।

स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर विजयी भएका उनीहरूबीचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ । १२३औँ धरान स्थापना दिवसको उद्‍घाटन समारोहमा बालेनको उपस्थितिले धरानवासी आश्चर्यमा परे । हत्तपत्त सार्वजनिक कार्यक्रममा नदेखिने बालेन धरान पुग्नुलाई रोचक एवं अर्थपूर्णरूपमा हेरिएको छ ।

यी दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अर्थ्याउने गरेका छन् । केही साताअघि बालेनसँगको भेटपछि हर्कले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ । यदि हामीले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’

हुन त  उनीहरूका गतिविधि हेर्दा र अभिव्यक्ति सुन्दा नयाँ दल खोलिहाल्ने अवस्था देखिँदैन । साथै, बालेन र हर्क तत्काल शीर्ष दलमा प्रवेश गरिहाल्छन् भन्ने अनुमान लगाउन पनि सकिँदैन ।  



नेपालमा पुराना र स्थापित भनिएका राजनीतिक दल र संघीय सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका  हर्क र बालेनले नयाँ दल खोले भने अनौठो मान्न नहुने विश्लेषक एवं लेखक लाओस राई बताउँछन् ।



‘दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु अनौठो होइन । तर, सिद्धान्त र दिगोपना प्रमुख कुरा हो । बालेन र हर्कसँग जनमत होला । तर, नेपालको राज्य व्यवस्था र अहिलेको परिपाटीसँग जुधेर कसरी अघि बढ्न सक्छन् भन्ने कुरा प्रमुख हो,’ उनले भने ।

उपमहानगरको निम्तोमा पहिलोपटक धरानको सार्वजनिक कार्यक्रममा उत्रिएका बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंसा गरेका थिए । साथै उनले हर्कले जारी राखेको श्रमदानलाई विकास निर्माणसँग जोडेको प्रसङ्गलाई तारिफ गरेका थिए ।

कतिपय कानुन, नीति, नियम र ऐनको ख्याल समेत नगरी परिवर्तनका लागि उत्रिएका बालेन र हर्कको हालको केमेस्ट्रीलाई २०८४ सालको निर्वाचनसम्म नयाँ दलका रूपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ ।

हुन त स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई समेत समेटेर नयाँ दल खोल्नेबारे धेरै गोप्य बैठक हुने गरे पनि त्यो निष्कर्षमा पुगिसकेको छैन ।   

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १२:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया