logo-img

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरू उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु बाह्य पर्यटकहरूले भरिभराउ छन् ।

सौराहामा घुम्न आउने बाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या उच्च छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र बाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ । सौराहामा पर्यटन आगमनमा वृद्धि भए पनि व्यवसायीहरूले नयाँ गन्तव्य र बाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् । 

पर्यटन व्यवसायीहरूले पर्यटकहरूको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताए । 



उनले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक बाह्य रहेको बताए । उनले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताए । उनले जिप सफारी, हात्ती सफारी लगायतका कार्यक्रमहरू भए पनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । उनले सरकारले निकुञ्जमा अन्य रुटहरू पनि खुला गरिदिए पर्यटकहरूको लागि राम्रो हुने उल्लेख गरे । 

उनले भने,‘सौराहामा ४० प्रतिशत आन्तरिक पर्यटक हुनुहुन्छ भने २० प्रतिशत भारतीय चिनियाँ पर्यटक तथा ४० प्रतिशत अन्य देशका पर्यटक हुनुहुन्छ । सौराहाले एकै पटक ६४ सय भन्दा बढी पर्यटकलाई राख्न सक्छ । सौराहा राष्ट्रिय निकुञ्जमा आबद्धता भएका व्यवसायीहरू हौँ । सौराहाका पर्यटकहरूको सबै कार्यक्रमहरू राष्ट्रिय निकुञ्जसँग जोडिएका हुन्छन् । जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरू छन् । पर्यटकहरूले मन पराउने भनेको हात्ती नै हो । राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जीप सफारीको रुट छ । अन्य रुटहरू पनि खुला गरिदिए पर्यटकहरूको लागि राम्रो हुने थियो । चितवनमा आउने विदेशी पर्यटकको लागि हवाई भाडा कम गर्न सके अझ धेरै पर्यटक आउन सक्ने थिए । सौराहामा १६८ वटा होटलहरु छन् । त्यसमा हाम्रो ६४ सय २२ बेडहरु छन् ।’



क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए । उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा बाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे । उनले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताए । व्यवसायीहरूले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताए । 

उनले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताए । सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरूलाई धेरै असर परेको भन्दै  निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताए । 



सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरूको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए । उनले आन्तरिक पर्यटकहरू समूहगत रूपमा आएर सभा सम्मेलनहरू गर्ने गतिविधिहरू वृद्धि समेत भइरहेको बताए । उनले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताए । उनले विगतकै गन्तव्यका आधारमा पर्यटकहरूलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजी गर्न आवश्यक रहेको बताए । उनले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गरे । 

उनले भने,‘अहिले २०१९ लाई बिर्सने गरी पर्यटकहरूको आगमन भएको महसुस गरेका छौँ । अहिले व्यवसाय पर्यटक फस्टाएको अवस्था छ । आन्तरिक पर्यटकहरू समूहगत रूपमा आएर सभा सम्मेलनहरू गर्ने गतिविधिहरू वृद्धि भएका छन् । हाम्रो नीति निर्माणमा समस्या छ । राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेका छौँ । विगतकै गन्तव्यका आधारमा पर्यटकहरूलाई आकर्षण गर्ने सक्ने अवस्था छैन । त्यसैले नयाँ गन्तव्य पस्कने विषयमा जानु आवश्यक छ। पर्यटन गतिविधि बढाउन व्यवसायीहरूले लगानी बढाउने हो । सडक मार्गको लागि राज्यले लगानी गर्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भए पनि त्यहाँबाट हामीले अझै फाइदा लिन सकिरहेका छैनौँ ।’

त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताए । उनले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताए । उनले भने, ‘विदेशी पर्यटकहरू चितवन भ्रमणको लागि आउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्ज जानुहुन्छ । त्यहाँ जाँदा सरकारले पर्यटकले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै मान्यता दिएको छ । पर्यटकहरू हतारहतार एक दिनमा डुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी गर्ने हुँदा कतिपय कार्यक्रमहरू छुट्छन् । हाम्रो माग के हो भने एक पटक काटेको टिकटलाइ ५ देखि ७ दिनको समय अवधीको अनुमति दियौँ भने बिस्तारै ढुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी लगायत अन्य कार्यक्रम थप गरेर सन्तुष्ट भएर फर्किन्छ ।’

होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्रकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताए । उनले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गरे । उनले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाइमा पर्ने गरेको बताए ।  

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १६:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया