जापानमा भूकम्प : मृतकको संख्या २ सय नाघ्यो, १०२ जना अझै बेपत्ता

यही १ जनवरीमा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । साथै, १ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका  अधिकारीहरूले बताएका छन् । 

७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापुस्थित नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधार ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बाबजुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिससामु पुग्ने प्रयास गरिरहेका छन् ।

इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । अझै १०२ जना बेपत्ता रहेका बताइएको छ ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर ३ सय २३ पुगेको थियो  । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिस रहेको बुझिएको छ ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिस ४ सय वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । 

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार ६ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।   



जापान हरेक वर्ष भूकम्पको सामना गर्छ । चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण भूकम्पबाट ठूलो क्षति  भने भएको थिएन । पुराना संरचना भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।   

सन् २०११ मा भूकम्पले सुनामी निम्त्याउँदा साढे १८ हजार मानिसको मृत्यु भएको थियो ।  



  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ७:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया