‘समाजसेवा’को बदनामी मेटाउने प्रयासमा धुर्मुस-सुन्तली
कलाबाट नाम, समाजसेवाबाट बदनाम

भनिन्छ, मानिसले जन्मँदै एउटा–एउटा कला लिएर आएको हुन्छ । जसले आफूभित्रको कला चिन्छ, ऊ आफ्नो जीवनमा सफल पनि हुन्छ । एउटा क्षेत्रमा पाएको सफलताको सिँढी चढेर अर्को क्षेत्रबाट पनि त्यत्तिकै नाम र दाम कमाउँछु भनेर बठ्याइँ गर्न खोज्यो भने ‘तीन बल्ड्याङ’ खान बेर लाग्दैन । 

अझ कलाकारिता क्षेत्र त यस्तो क्षेत्र हो, कोही व्यक्ति एउटा मात्रै राम्रो कामले पनि सफलताको ‘आकाश छुन’ पुग्छ, त्यही व्यक्तिले सानो मात्रै गल्ती गर्यो भने पनि ऊ ‘पाताल धसिन’ कुनै आइतबार कुरिराख्नै पर्दैन । त्यसको पछिल्लो जल्दोबल्दो उदाहरण बनेका छन्, कलाकार जोडी धुर्मुस–सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरे । 

कुनैबेला उनीहरू सर्वाधिक मन पराइने हास्यकलाकारको अग्रपंक्तिमा थिए । बच्चादेखि बुढासम्म सबैको मुखमा हास्यकलाकार भन्नासाथ टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित पात्रद्वय धुर्मुस सुन्तलीको नाम आउने गर्थ्यो । सुरुमा रिलमा जोडी बनेर अभिनय गरेका यी दुई पात्र काम गर्दागर्दै रियल जोडी बनेर अभिनयमा छाइरहे । धुर्मुस सुन्तलीका रूपमा सफल बन्नका लागि उनीहरूले गरेका संघर्षको कथा आफ्नै ठाउँमा छ । तर, कलाकारका रूपमा दर्शकले दिएको मायालाई उपयोग गरेर समाजसेवाका नाममा थप चर्चित हुन खोज्दा उनीहरू नराम्ररी असफल भए । भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखियो भनेझैँ यी सफल कलाकार केही वर्षकै अन्तरालमा असफल समाजसेवीमा दर्ज भए । 

०७२को भूकम्पपछि कलाकारिताभन्दा ‘सामाजिक सेवा’मा सक्रिय हुन थालेका उनीहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ खोलेर समाजसेवा सुरु गरे । सुरुवाती चरणमा सफलता पनि पाए । देश–विदेशमा गएर स्टेज प्रोग्राम गर्दै त्यसबाट आएको रकमबाट भूकम्पपीडितका लागि उनीहरूले आवास बनाइदिए । काभ्रेको पहरी बस्ती, गिरान्चौर बस्ती, बर्दिबास– २, महोत्तरीमा बस्ती र सन्तपुर बस्ती गरी चार ठाउँमा उनीहरूले एकीकृत बस्ती निर्माण गरे । त्यसबाट उनीहरूले निकै वाहवाही पनि पाए । ‘सरकारले गर्न नसकेको काम कलाकारले गरेर देखाइदिए’ भन्दै उनीहरूको चौतर्फी चर्चा परिचर्चा भयो । यही वाहवाहीले यो जोडीको महत्वाकांक्षा झन् बढायो ।

०७५ सालमा उनीहरूले अनुमानित तीन अर्बको लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरे । सुरुमा देश–विदेशबाट सहयोग पनि राम्रैसँग आयो । तर दान दिनका लागि मन मात्र भएर हुँदैन, धन पनि चाहिन्छ । अझ ‘धनविनाको मन र मनविनाको धन’ कुनैले पनि अपेक्षित परिणाम दिन सक्दैन । धन र मन समानान्तर रूपमा जाग्रित भयो भने मात्रै त्यो सेवाका रूपमा परिणत हुन्छ । धुमुस–सुन्तलीको ‘समाजसेवा’मा यही सूत्र लागू भयो । 

केही प्रतिशत काम सम्पन्न भएपछि उनीहरू आर्थिक अभावले रित्तिए । रंगशालाको काम अलपत्रको अलपत्र नै पर्यो । रंगशाला अलपत्र परेपछि हिजो प्रशंसा गरेर नथाक्नेहरूले नै धुर्मुस–सुन्तलीमाथि रंगशाला निर्माणमा  अनियमितता गरेको आरोप लगाउन थाले । जसले गर्दा उनीहरूको करिअरमा ठूलो धक्का लागेको छ । 
रंगशाला निर्माणका लागि उठेको रकम व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप उनीहरूमाथि लाग्दै आएको छ । अहिलेसम्म पनि उनीहरूमाथि लागेको अनियमितताको दाग मेटिन सकेको छैन । अझै पनि उनीहरूमाथि निकै गालीगलौज र नकारात्मक टीकाटिप्पणी भइरहेको छ । 



भरतपुर महानगरको सहयोग र नेपाल सरकारको सदाशयताले उनीहरूले बेवारिसे अवस्थामा छाडेको रंगशाला निर्माणकाे कामले 'सेफ ल्याण्डिङ' पाएकाे छ । सरकारले रंगशाला निर्माणकाे स्वामित्व ग्रहण गरेपछि धुर्मुस सुन्तलीले केही सन्तोषको सास फेरेका छन् । सामाजिक कार्यमा ताली हुँदै गालीको अवस्थामा आइपुगेका धुर्मुस–सुन्तली आठ वर्षपछि पुनः पुरानै पेसा कलाकारितामा फर्किएका छन् । त्यसको सुरुवात भएको छ, घरेलु स्टेजबाट । उनीहरू गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा र त्यसपछि धादिङ महोत्सवमा सहभागी भए । उनीहरूले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ महोत्सवमा हास्यप्रस्तुति दिँदै छन् ।

स्टेजमा यो जोडी टेलिसिरियल ‘मेरी बाँस्सै’को चर्चित पात्र धुर्मुस–सुन्तलीको पोसाक र हाउभाउमै प्रस्तुत भएको देखिएको छ । उनीहरूलाई हेर्न दर्शकको भीड पनि उल्लेख्य देखिन थालेको छ । समाजसेवाका नाममा बदनाम भए पनि कलाकारका रूपमा उनीहरूलाई दर्शकले साथ दिन थालेका छन् । 



घरेलु महोत्सवमा माग चर्किन थालेपछि कुञ्जनाले आइतबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै जीवन अन्धकारमा फसेर दिक्क भएको अवस्थामा उज्यालो आउन थालेको उल्लेख गरेकी छन् । यसले उनीहरूले फेरि कलाकारिता क्षेत्रलाई निरन्तरता दिन लागेको बुझ्न सकिन्छ । के अब यो जोडीले ले पहिलेझैँ आफ्नो दर्शक बटुल्न सक्लान् त ? भन्ने जिज्ञासा आममानिसको मनमा आउने गरेको छ ।

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १७:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया