धामीको भरपर्दा गर्भमै शिशुको ज्यान गयो
प्रतीकात्मक तस्बिर

डोटीको दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन । 

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् । 

तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झ्याउने प्रयास गरे कोही तयार भएनन् । ‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ’, डाक्टर निराजन श्रेष्ठले भने, ‘तर उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’ 

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई÷चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ । नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो । 

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेसनका लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा. श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गरे । 

डा. श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेसनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेसनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।



बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो । अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि भ्याक्युम डेलिभरीमार्फत मृत बच्चा बाहिर निकालियो । 

यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ । रासस



  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार २०:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया