दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव
फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । 

माघ १ गते मनाइने माघी पर्व, माघसङ्क्रान्ति, तिलासङ्क्रान्ति, मकरसङ्क्रान्ति, उत्तरायण, छार म्हेङ, येले संवत्, मकरस्नान र राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गरेका छन् । 

माघसङ्क्रान्तिका दिन थारू समुदायले माघी पर्व, मगर समुदायले मौलिक पर्व (नयाँ वर्ष), मधेसी समुदायले तिलासङ्क्रान्ति, किराँत समुदायका राई, लिम्बू, सुनुवार, सुरेल, याक्खा, धिमाललगायतले आफ्ना राजा यलम्बरको स्मरणमा येले संवत्, छन्त्याल समुदायले छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वका रूपमा बडो हर्षोल्लास, उमङ्ग, उत्साह र धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । 

हिन्दू धर्मावलम्बीले पवित्र नदीमा मकरस्नान, सूर्यदेवको पूजा–उपासन गर्दै दान–दक्षिणा दिएर मकरसङ्क्रान्ति मनाउँछन् । नेपाल जैविक विविधतामा धनी मुलुक भएको सन्दर्भमा आजकै दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । 

‘एकै दिन यतिका धेरै पर्व, त्योहार, उत्सव, अनुष्ठान र दिवस मनाइनुले नेपालको विविध संस्कृति, परम्परा, रहनसहन, रीतिरिवाजलगायतलाई सबै नेपालीले सहर्ष स्वीकार गर्दै ऐक्यबद्ध भई अघि बढ्न दृढ सङ्कल्पित रहेको सन्देश सञ्चार गर्दछ, यसले ‘अनेकतामा एकता’ हाम्रो मौलिक पहिचान र विविधतालाई अक्षुण्ण राख्न उत्प्रेरित पनि गर्दछ’, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।   





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार ८:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया