मधेस प्रदेशमा तिलासक्रायत पर्वको उल्लास
फाइल तस्बिर

मधेस प्रदेशमा आज तिलासक्रायत पर्वको उमङ्ग छ । माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सक्खरको खुदोमा मिलाएर बनाइएका लड्डु) खाने, खुवाउने परम्परा छ ।  

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ । हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन् । माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ । नयाँ परिकार खाने खुवाउने चलनले यो पर्व उल्लासमय छ । 

पर्वमा घरघरै चिउरा, दही, सक्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रुमाइलोको अवसर मानिन्छ । पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ । पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ ।

माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ । माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन् । मिथिलामा बसोबास गर्ने आदिवासी थारू समुदायको तिलासक्रायत मुख्य पर्व हो । 

पश्चिमका थारू समुदायको सिको गर्दै यहाँ पनि यस पर्वलाई ‘माघी’ भन्न थालिएको छ । यसै दिन थारूको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारू समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ ।  

थारू परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन छ । यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् । 



मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनी र इष्ट मित्रकहाँ पुर्‍याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ । सक्खर, तील, घ्यूजस्ता परिकार खाने चलन छ । रासस 



  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १०:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया