logo-img

पोखरा विमान दुर्घटनाको एक वर्ष : उस्तै छ प्रियजन गुमाउनेहरूको पीडा
‘त्यो दुर्घटनापछि जीवन अन्धकार भएको छ’

माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । उनका श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा थिए । 

एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो । तर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । 

परिवारलाई सप्राइज दिन रुचाउने पौडेलले दिउँसोको नभइ बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।



दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमानको नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन ।

‘उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ’, प्रतिभाले भनिन्, ‘आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।’ 

दुर्घटना भएको आज एक वर्ष बित्यो । तर, प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । ‘त्यो बेला त्रिभुवन काठमाडौं जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौं जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।’



प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमानको सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । ‘म आफ्नो भविष्यबारेमा अहिले केही भन्नसक्ने अवस्थामा छैन,’ प्रतिभाले भनिन् । 

दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको गुनासो छ । ‘अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला । तर, हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ’, प्रतिभाले पीडा सुनाइन् ।  



सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुल्न सकेकी छैनन् । ‘भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ’, उनले भनिन्, ‘तर, त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।’ गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासू–ससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।  

अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउनेबित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए ।  

प्रतिभा र रेनुकोजस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए ।  

सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् । ‘मानवीय त्रुटीका कारण भएको  दुर्घटनाका दोषीले सजाय पाउनै पर्छ’, उनले भने । दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत १२ पुसमा सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटीलाई कारक मानेको थियो । 

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ । 

आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । रासस

  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १२:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया