logo-img

चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामा भित्रिए १ लाख पर्यटक, १० करोड राजश्व संकलन
फाइल तस्बिर

चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा १ लाखभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् । 

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर  पाइन्छन् । 

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिशृप तथा उभयचर, बसाईंसराइ आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा १ लाखभन्दा बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए ।



वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोडभन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए ।

वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ । 

उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए । पुनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए ।  



उनले चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे,रोनाल्डो, मकुना, यमगज र गोविन्देलगायतका हात्ती बाहिर देखिएको बताए । 



  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १३:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया