गृहमन्त्री श्रेष्ठको प्रस्ताव : विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गराैँ
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो ।  

२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरूका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशीलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे । 

काठमाडौं महानगरपालिकाले २ माघ वि.सं. १९९० मा गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए । 

‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्यूनीकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौँ । त्यो मोडेल नेपालका सबै पालिकाहरूको लागि अनुकरणीय हुन सक्छ,’ उनले भने । 

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुनर्निर्माणमा देखाएको चासोको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर/भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।



उनले काठमाडौं महानगरले सुरु गरेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन,एम्बुलेन्स सेवा, शैक्षिक क्षेत्रको सुधारलगायतका कार्य अन्य स्थानीय पालिकाको लागि समेत अनुकरणीय भएको बताए । 



  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ११:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया