आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

चिकित्सक र कर्मचारीको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

चिकित्सक र कर्मचारी आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामी पुग्ने गरेका छन् ।

प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन् । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् ।

आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।

यसअघिको आन्दोलनका क्रममा समस्या समाधान गर्ने सहमति भए पनि प्रतिष्ठानमा कायम मुकायम उपकुलपति डा. प्रल्हाद कार्कीका कारण सहमति कार्यान्वयन हुन नसकेको आन्दोलनरत कर्मचारीको भनाइ छ ।

प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यका अनुसार सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको हो ।



यसैबीच, प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

लामो समयदेखि आन्दोलन हुँदा सेवा प्रभावित भएको अवस्थामा पनि समाधान गर्न पहल नगरेको भन्दै उनले कार्यकक्षमा ताला लगाएका हुन् । प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई ‘नछाड्ने’ चेतावनी पनि उनले दिएका छन् ।



प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि  पदोन्नति प्रक्रिया रोकिएको थियो । गत वर्ष पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया अघि बढेको थियो ।

पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तर्वार्ता सकिएकोमा कार्की कायममुकायम उपकुलपति भएर आएपछि सबै प्रक्रिया रोकिएको छ ।

  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १४:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया