ताेरी पहेँलै, म्याग्दीको रत्नेचौर घुमाऊ मायाले

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार–पाँच वर्षअघिसम्म गुमनामजस्तै थियो । पुस-माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैनथे । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन् । 

रत्नेचौरको भानु माविका पूर्वप्रधानाध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आमसञ्चार माध्यम भएको बताउँछन् । 'रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो, तर यसरी पर्यटक आउँदैनथे,' उनले भने, 'रत्नेचौरको फाँटको बीचमा रहेको सडक विसं ०७७ मा कालोपत्र भयो । पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन । सबैको हातमा प्रविधिको पहुँच पुगेकाले रत्नेचौरजस्ता ओझेलमा परेका सुन्दर ठाउँ चिनिएका छन् ।'

समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताइन् । 

'तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ,' उनले भने, 'एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।' 

बेनी र बागलुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवतीदेखि पाका उमेरका पनि आउँछन् । दैनिक दुई सयदेखि पाँच सयजनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुशल शर्माले बताए । 'बिदाको दिन तोरीबारी हेर्न आउनेको घुइँचो नै लाग्छ,' उनले भने, 'अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।' म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ । 



रत्नेचौरको फेदी भुवानेमा दुईवटा होटल र रेष्टुरेन्ट खुुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ । परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएकोे बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुुर थापाले बताए । 

'रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौँ,' उनले भने, 'श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुंगे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ ।' 



  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १७:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया