राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रमा बढ्यो ‘खेलकुद क्रेज’

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।  

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ । यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिकासहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।  

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको बाँस्तोलाले बताए । उनले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए ।  

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो । यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए । ‘उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ’, बाँस्तोलाले भने ।  

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । अध्यक्ष बाँस्तोलाले भने, ‘टालटुलेरूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ ।’ 

माई नगरपालिकाले चालू आर्थिक बर्षमा २२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक विद्यालयलाई १० हजार रुपैयाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बूले जानकारी दिए । ‘राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो,’ उनले भने । सरकार परिवर्तनसँगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुने क्रमले खेल क्षेत्र ओझेल परेको समेत उनको गुनासो छ । नगर प्रमुख लिम्बूका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने छ । 



जिल्ला खेलकुद विकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भूमिका खेलेको बताए ।  

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालू आवमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिइन् । सूर्योदय नगरपालिकाले चालू आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए । नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको उनले जानकारी दिए ।  



यसपटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालू आवमा खेलकुदका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताए । ‘आर्थिकरूपमा सबै पालिकाले समान लागनी गर्नुपर्छ, अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो’, अध्यक्ष राईले भने । पालिकास्तरबाहेक वडागतरूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ । पालिकाले प्रतियोगितासँगै खेलमैदान निर्माणको कामसमेत गरिरहेका छन् । 

यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता हुँदैछ । प्रतियोगितामा छात्र/छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् । पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् । 

रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् । जिल्लामा विगत वर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माईभ्याली गोल्डकप स्थगित गरिएको छ । इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यतिबेला बासको प्यारापिट निर्माण भइरहेको छ । स्थायी प्याराफिट अभावमा बासको प्याराफिट निर्माण गर्दा १२ लाख रुपैयाँ बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए । रासस 

  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ९:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया