logo-img

मुग्लिन-मलेखु सडकको काम एक वर्षमा ६ प्रतिशत

मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा ६ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ ।

नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । 

नक्साङ्कन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ । एक वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै छ महिना लागेको उनले जानकारी दिए । 



आचार्यका अनुसार अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ । यो सडकमा रहेका आठवटा पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटा पुलको काम भइरहेको उनले बताए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुन सकेको छैन । अन्य दुई पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड दुई लेनको सडक बनाइँदै छ । हाल यो सडकको चौडाइ सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आचार्यले बताए । 

बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्नेछ । चार लेन सडक १४ मिटर फरकिलो हुन्छ । उकालोमा सडक तीन लेनको बनाइने छ र यो १० दशमलव पाँच मिटर फराकिलो हुनेछ । 



त्यस्तै तीन लेनको बन्ने उकालो सडक तीन किलोमिटर छ । सडकको स्तरोन्नतिका लागि रूख काट्न वन विभागको कोषमा पैसा पठाइँदै छ भने विजुलीका पोल सार्ने प्रक्रिया अघि बढाइएको छ । गएको एक वर्ष ढिलाइ भएको भए पनि अब कामले गति लिने आचार्यले बताए ।  



  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १५:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया