नेपाली कलाक्षेत्र : बाबुआमाको पदचाप पच्छ्याउँदै छोराछोरी

नयाँ पुस्ताका नेपाली कलाकार धेरैले नेपाली फिल्म क्षेत्रमा आफ्ना बुबा–आमाको बिँडो थाम्दै आएका छन् । पुजारीको छोरा पुजारी भएझैँ पुराना कलाकारका छोराछोरी कलाकार नै भएको उदाहरण नेपाली फिल्म क्षेत्रमा औधि नै देखिन्छ । उसो त पुराना कलाकारहरू पनि आफ्नो सन्तानलाई फिल्म क्षेत्रमा प्रवेश गराउनका निम्ति लागिपर्ने गरेका छन् । कसैले त आफ्ना छोरा–छोरीलाई खेलाउनकै लागि फिल्म बनाएका उदाहरण पनि प्रशस्तै छन् ।
 
यस्तै, केही चर्चित कलाकारको कुरा गरौँ, 

कलाकारको छोरा कलाकार भन्नेबित्तिकै पछिल्लो समय धेरैको दिमागमा भुवन केसीको बाबुछोराको नाम आउँछ । भुवनपुत्र अनमोल केसीले चलचित्र होस्टेलबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । कतिपयले उनलाई बाबुकै कारण फिल्म क्षेत्रमा चलेको आरोप लगाउँछन् । तर, उनको आफ्नै निकै ठूलो फ्यान बेस रहिआएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन । उनले ड्रिम्स, क्याप्टेन, जेरी, गाजलुलगायतका फिल्ममा अभिनय गरिसकेका छन् । 

चर्चित अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा पनि चलचित्र क्षेत्रमा एक आशालाग्दो अनुहारमा गनिन्छिन् । उनको डेब्यु फिल्म ‘ए मेरो हजुर ३’ हो । जुन फिल्मको निर्देशन उनकै आमा झरना थापाले गरेकी थिइन् । पहिलो फिल्मबाट नै निकै सफलता हासिल गरेकी सुहानाले हालसम्म ए मेरो हजुर सिक्वेल ३ ,४ र फिल्म ‘एक भागवत एक गीता’ गरी तीनवटा फिल्ममा काम गरिसकेकी छिन् । 

निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत पनि कलाकारिता क्षेत्रमा सानैदेखि लागिपरेका थिए । उनको नेपाली कलाकारिता क्षेत्रमा प्रवेश ०५५ सालमा ‘नेपाली बाबु’बाट बालकलाकारका रूपमा भएको थियो । उनले होस्टेल, मेला, ए मेरो हजुर ४ र हालै जय हो जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । 



त्यस्तै, गौरव पहारी, नेपाली फिल्मका एक सफल कलाकार टीका पहारीका छोरा हुन् । उनी म्युजिक भिडियोतिर धेरै सक्रिय देखिन्छन् ,उनको गीत ‘सुन साइँली’ न सुन्ने त सायद नै कोही होला । उनी यसै गीतबाट दर्शकमाझ बढ़ी चर्चित भएका थिए । उनले फिल्म ‘मञ्जरी’बाट नेपाली फिल्ममा डेब्यु गरेका थिए । 



हाल हलमा चलिरहेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’का निर्माता हुन्, राजाराम बुढ़ाथोकी । यो फिल्ममा उनले आफ्नै छोरी रक्षालाई प्रमुख अभिनेत्रीका रूपमा प्रस्तुत गरेका हुन् । यो रक्षाको पहिलो फिल्म भने होइन, उनले यसअघि नै फिल्म ‘लाखे’मा सहायक अभिनेत्रीका रूपमा काम गरिसकेकी छन् ।

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिरहेको समयमा अब ‘एक्सन स्टार’ विराज भट्टका छोरा पनि हिरो बन्ने भएका छन् । विराजले आफ्नो निर्देशन तथा निर्माण रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट जेठो छोरा समीर भट्टलाई हिरो बनाउन लागेका हुन् । उमेरले २४ वर्षका समीरले विगत १० वर्षदेखि मुम्बईमा बसेर अभिनयसँगै मार्सल आर्टको तालिम लिइसकेको जनाइएको छ । 

सन्तानका लागि परिवारले फिल्ममा लगानी गर्नु गलत भने होइन । त्यसबाट राम्रो कलाकार जन्मिँदा फिल्म क्षेत्रलाई नै फाइदा पुग्छ । तर, प्रश्न कहाँ उठ्छ भने के यी नयाँ उदाउँदा कलाकारले आफ्नो करिअरलाई यसैगरी निरन्तरता दिन सक्लान् त ?

  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार २२:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया