उत्तर कोरियाद्वारा पानीमुनि प्रहार गर्ने आणविक हतियार परीक्षण

उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।

संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।

विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् । यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए । प्योङयाङको रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार भने, ‘यो सैन्य अभ्यासले क्षेत्रीय स्थितिलाई थप अस्थिर बनाउने काम गरेको छ र यो उत्तर कोरियाको सुरक्षालाई गम्भीर खतरामा पार्ने कार्य हो ।’ 

उत्तर कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलाई जारी राख्नेछ,’ प्रवक्ताले भने ।



हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गरेका थिए । उनले पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणासमेत गरेका थिए ।  



  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार १५:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया