सुझाव संकलनपछि मात्र भूकम्प पुनःनिर्माणको ढाँचा तय गर्ने प्राधिकरणको तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव सङ्कलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थलगत अध्ययन र सुझावका आधारमा पुनःनिर्माण अघि बढाइने र त्यसका लागि अहिले स्थलगत अनुगमन तथा सुझाव सङ्कलन थालिएको बताए । उनकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले आजदेखि अनुगमन तथा अध्ययन गर्न लागेको हो । 

टोली कर्णाली प्रदेश पुगिसकेको छ । टोलीले भोलि रुकुम पश्चिम र पर्सी आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने उनले बताए ।

‘अहिले भूकम्पका लाभग्राहीको अस्थायी आवास निर्माण जारी छ, आवास निर्माण कुन गतिमा भइरहेको छ, के समस्या आइपर्‍यो र समाधान कसरी गर्न सकिन्छ भन्ने पहिलो विषय अध्ययनको रहेको छ’, कार्यकारी प्रमुख पोखरेलले भने, ‘त्यसपछि दोस्रो चरणमा हुने पुनःनिर्माणलाई कुन ढाँचाबाट कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि सुझाव सङ्कलन गरिने छ ।’
 
उनले दुवै जिल्लाका प्रभावित क्षेत्र पुगेर अन्तरक्रिया गरिसकेपछि अर्को दिन सुर्खेतमा आएर प्रदेशस्तरीय छलफल गरी एउटा निचोडमा पुगिने पनि बताए । टोलीले पश्चिम क्षेत्रकै मुख्य नाका नेपालगञ्ज भएकाले विपद् आइपर्दा बाँकेले खेल्नुपर्ने भूमिका तथा आवश्यक विपद् व्यवस्थापन, सामग्री भण्डारणलगायतको तयारीका विषयमा पनि छलफल गरिने उनले जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २१:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया