logo-img

सशस्त्र प्रहरीको दाबी : दशगजाकाे ३८ स्थानको १७ किमी क्षेत्र खाली गरायौँ

नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा ५ सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सोहीक्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३.३२ बिघा क्षेत्रमा खेतिपाती गर्न रोक लगाइएको बताए । त्यसक्रममा १ सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो । 

दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म १ हजार ८ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ । 



जोर अंकको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका २ सय ५३ पोष्ट खडा गरिएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच १ हजार आठ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्थ र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ ।

भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका ९ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो । त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ । ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा  एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ । मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ । 



बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ । सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ । त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन् ।

अर्धसैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैविक प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ । बलले यही माघ ९ गते आफ्नो २३औँ स्थापना दिवस मनाउँदैछ ।



सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजानेक्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको  थियो । सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमान्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचालन गर्न ४५ वटा  सीमा पोष्टलाई नायब उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच हुँदै आएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठकसमेत आयोजना हुँदै आएको छ ।

नेपाल–भारत तथा नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भको विस्तृत विवरण जिआईएस प्रविधिद्वारा एपीएफ बोडर पिलर म्यानेज्मेन्ट सिस्टम राख्ने कार्य भइरहेको पनि प्रवक्ता खड्काले बताए । 

राज्यको भरपर्दो सुरक्षा निकायका रूपमा कानुनी व्यवस्था कायम राख्न मानवअधिकारको सम्मान गर्दै शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि बल अहोरात्र खटिरहेको सङ्गठनले जनाएको छ । रासस

  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १५:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया