एनआरएनएद्वारा जाजरकोट भूकम्प पीडितलाई १ करोड २४ लाख सहयोग

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले भूकम्पका प्रभावितलाई राहतका लागि १ करोड २४ लाख ६८ हजार रुपैयाँ सहयोग गरेको छ । गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको थियो । 

एनआरएनए आईसीसीको १९ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ९० दिनको कार्य विवरण शनिबार सार्वजनिक गर्दै उक्त सहयोग गरेको जनाइएको हो । कार्यक्रममा एनआरएनए आईसीसीका प्रवक्ता फणीन्द्र पन्तले संघले भूकम्प प्रभावित क्षेत्रमा दीर्घकालीन सहयोगका लागि समन्वय गरेर काम गरिरहेको बताए । 

विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमिति चयन गरेको थियो । काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बीच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको पन्तको दाबी छ ।   

उनले भने, ‘गत नोभेम्बर पहिलो साता जनधनको ठूलो क्षति हुनेगरी गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि संघले स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।

संघले यसै साता धरान र जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक/एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको उनले बताए । 

त्यस्तै, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत हौसलास्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमका लागि ८ लाख, छैटौँ एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गरेको समेत प्रवक्ता पन्तले जानकारी गराए । 



धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले बताए ।



  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार २२:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया