युवा-युवतीमा विदेशको लहर, मिहिनेत गरे नेपालमै छ अवसर
एकैपटक लोकसेवाका पाँच, छ र सात परीक्षा पास गरेका युवतीहरूको सफलताको कथा

केही दिनयता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकैपटक पाँचवटा लोकसेवा परीक्षा उत्तीर्ण गरेकी गुल्मी धुर्कोट गाउँपालिका–३ की मनीषा जिसीको व्यापक चर्चा भयो । उनलाई देशभरबाट बधाईको ओइरो नै लागेको छ । आमसर्वसाधारण मात्रै होइन, विभिन्न पार्टीका नेताहरूले उनलाई बधाई दिइरहेका छन् । 

मनीषाको सफलताले मिहिनेत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिएको भन्दै उनको सर्वत्र प्रशंसा भइरहेको छ । मनीषाले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी थिइन् । 

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।

एकैपटक पाँच परीक्षा पास गरेको भनेर मनीषाको चर्चा भएसँगै सोही प्रकृतिका अन्य युवतीहरूको पनि समाचार प्रकाशित भएका छन् । तिनैमध्येका अन्य दुई युवती हुन्, बाजुराकी छाया जैसी र मुगुकी सगुना परियार । विकट जिल्ला बाजुराकी छाया एकै वर्षमा लोक सेवाका ६ परीक्षा पास गरेर चर्चामा छिन् भने अर्को विकट जिल्ला मुगुकी सगुना एकै वर्ष लोकसेवाका सात परीक्षा पास गरेर चर्चामा छिन् ।

बाजुराको बुढीगंगा नगरपालिका–६ माल्ताकी छाया जैशीले १० महिनाको अवधिमा लोक सेवा आयोगले लिएका ६ वटा लिखित परीक्षामा सफलता हात पारेकी हुन् । 



बाजुराको भानुदोय माविबाट एसइई उत्तीर्ण जैसीले २०८० बैशाख यता लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता हात पारेकी हुन् । उनले दिएका चारवटाको मौखिक परीक्षा फल आउन बाँकी छ । उनले कोशी प्रदेशमा मौखिक परीक्षामा उत्तीर्ण भएर उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा सेवा दिन थालिसकेकी छन् । 



बाबुआमाका सात छोराछोरीमध्ये चौथो सन्तान छायाका बाबु महानन्द जैसीले उनलाई ज्यालामजदुरी गरेर सो सफलता दिलाएका हुन् ।

भेटरीनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गत वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिक पछि नाम वैकल्पिकमा मात्रै निस्कियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते नतिजा आउँदा उनी जागिरमा सिफारिस भइन् ।

त्यसपछि पनि उनले पुस २५ गते लुम्बिनी प्रदेशमा भेटेनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवा आयोग पाँचौँ तह, पुस ३ गते बाग्मती पाँचौँ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । 

त्यस्तै, मुगुकी सगुना परियारले पनि उनी एक वर्षभित्रैमा लोकसेवा आयोगका सातवटा परीक्षामा नाम निकालेकी छिन् । 

मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी २५ वर्षीया परियार स्टाफ नर्स हुन् । उनले सुरुमा संघीय लोक सेवाआयोगको कार्यालय दीपायलले सार्वजनिक गरेको स्टाफ नर्सको परीक्षाको नाम निकालिन । यसलगत्तै उनले लगातार सातवटा लोकसेवा परीक्षा उत्तीर्ण गरेकी हुन् ।  

उनले गत वर्ष लोक सेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णालीप्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोक सेवा आयोग दीपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी हुन् । 

आफ्नै गाउँनजिक रहेको सामुदायिक विद्यालय महाकाली माविबाट एसएलसी उत्तीर्ण गरेकी उनले सानैदेखि नर्स बन्ने सपना बुनेकी थिइन् ।

सेती–महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट अंकसहित नर्सिङ परीक्षा पास गरेकी सगुनाले  पास भएलगत्तै उनी स्वास्थ्य सेवाकार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । 

कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोक सेवा तयारी गर्न जागिर छाडेर काठमाडौं पुगिन् । काठमाडौंमा एक महिनाजति बसेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । 

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको सात पदमा परीक्षा दिइन् । परीक्षापश्चात् उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।

त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा उनको नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । 

अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् । 

देशमा रोजगारीको खडेरी भएको भन्दै अधिकांश युवायुवती वैदेशिक रोजगारीका लागि भौँतारिइरहेका बेला यी तीन युवतीको सफलताले सबैलाई प्रेरणा दिएको छ । 

उनीहरूको यो सफलताले मिहिनेत गरे नेपालमै अवसर छ भन्ने पुष्टि गरेको छ । त्यति मात्रै होइन, तीन युवतीको सफलताको कथाले युवाहरू विदेशिने लहरलाई केही मत्थर पार्ने अपेक्षा गर्न सकिन्छ । 

  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार २२:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया