५० दिनमा अजय देवगनका पाँच फिल्म हलमा

सन् २०२३ मा फिल्म ‘भोला’मा देखिएका अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका पाँच फिल्म लिएर दर्शकमाझ आउँदै छन् । यी फिल्म ५० दिनभित्रमा दर्शकमाझ आउन लागेका हुन् ।

पाँच फिल्ममध्ये सबैभन्दा पहिला ‘शैतान’ रिलिज हुँदैछ । ८ मार्चमा रिलिज हुने यो फिल्ममा आर माधवन र ज्योतिकाको पनि प्रमुख भूमिकामा अभिनय हुँदैछ ।फिल्म ‘शैतान’ पछि अर्को फिल्म ‘मैदान’ रिलिज हुनेछ । लामो समयदेखि रिलिजको प्रतीक्षामा रहेको स्पोर्ट्स ड्रामा यो फिल्म अप्रिलको दोस्रो हप्तामा इदको मौकामा रिलिज हुनेछ । 

‘बधाई हो’ फेम निर्देशक अमित रविन्दरनाथ शर्मा निर्देशित फिल्म बोनी कपूर, आकाश चावला, अरुणव जोय सेन गुप्ता र जी स्टुडियोले निर्माण गरेको हो । फिल्ममा अजयसँगै प्रियामणि र गजराज रावको अभिनय छ ।

‘मैदान’ सन् १९५२ र १९६३ को बीच भारतीय फुटबलको स्वर्ण युगमा आधारित छ । फिल्ममा अजयले एक कुशल भारतीय कोच सैयद अब्दुल रहीमको भूमिका निभाएका छन् ।

‘मैदान’ रिलिजको दुई हप्तापछि अर्थात अप्रिल २६ मा ‘औरों में कहाँ दम था’ लिएर दर्शकमाझ आउँदैछन् । निरज पाण्डेको निर्देशन र श्रेयान्स हीरावतको निर्माण रहेको यो फिल्म रोमान्टिक थ्रिलर फ्लेभरमा छ । फिल्ममा जिमी शेरगिल र सई मान्जरेकरको अभिनय छ ।

अप्रिलपछि स्वतन्त्रता दिवसमा अजय ‘सिंघम अगेन’मा ‘सिंघम’को लोकप्रिय भूमिकामा देखिनेछन् । रोहित शेट्टीको यो एक्सन इन्टरटेनर फिल्ममा अजय, अक्षयकुमार, रणवीर सिंह, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूरको अभिनय हुनेछ ।



सन् २०२४ मा अजयको अन्तिम रिलिज फिल्म ‘रेड २’ हुनेछ । यो फिल्म यसै महिनाको सुरुवातमा फ्लोरमा गएको छ र १५ नोभेम्बरमा रिलिज हुँदैछ । यो फिल्ममा अजयका साथ वाणी कपूर प्रमुख भूमिकामा छिन् । फिल्ममा रितेश देशमुख खलनायक हुनेछन् । यसको निर्देशन राजकुमार गुप्ताले गरेका छन् ।

आजको समयमा मूलधारका एक अभिनेताका लागि एकै वर्षमा ५ भन्दा बढी फिल्म रिलिज हुनु दुर्लभ अवसर हो । अभिनय करियर सुरु गरेको तेस्रो वर्षमा अर्थात् सन् १९९३ मा अजयका ८ फिल्म ‘दिव्यशक्ति’, ‘प्लेटफर्म’, ‘संग्राम’, ‘शक्तिमान’, ‘दिल है बेतन’, ‘एक ही रास्ता’, ‘बेदर्दी’ र ‘धनवान’ रिलिज भएका थिए ।



अजयका सन् २००३ मा ‘भूत’, ‘कयामत’, ‘चोरी चोरी’, ‘गंगाजल’, ‘परवाना’, ‘जमीन’ र ‘एलओसी कारगिल’, सन् २००५ मा एकै वर्षमा ८ फिल्म ‘इंसान’, ‘ब्लैकमेल’, ‘जमीर : द फायर विदइन’, ‘टैंगो चार्ली’, ‘काल’, ‘मैं ऐसा ही हूँ’, ‘अपहरण’ र ‘शिखर’, सन् २०१० मा ६ फिल्म ‘अतिथि तुम कब जाओगे’, ‘राजनीति’, ‘वन्स अपन ए टाइम इन मुम्बई’, ‘आक्रोश’, ‘गोलमाल ३’ र ‘टूनपुर का सुपरहीरो’ रिलिज भए ।

फिल्म ‘राजनीति’ र ‘वंन्स अपन ए टाइम इन मुम्बई’ सुपरहिट साबित भयो । ‘गोलमाल ३’ ले सय करोडको कमाई गरेको थियो । 

  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ८:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया