logo-img

भेडीगोठले जोडेको तुलाचन-घलेको लोभलाग्दो मितेरी साइनो

गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका  हुन् ।  

कास्कीको भुजुङखोलामा अरूको घरमा काम गरेर जीविका चलाउँदै आएका घले करिब आठ महिनाअघि मात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिएका थिए । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए ।   

‘यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ’, घलेले भने । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।



अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउरा–घाँसमा उहाँहरूले सहकार्य गर्छन् । घलेले काम गर्ने भेडीगोठमा नियमितरूपमा चार–पाँचजना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिन्छन् ।  

वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए । ‘हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको ?’, तुलाचनले भने । उनको गोठमा नौवटा भैँसी छन् ।

दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गरेका छन् । भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडीगोठ पुग्छन् भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्छन् ।  



बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउँछन् । नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभावका कारण ‘मित/मीतिनी’ साइनो हराउँदै गएको छ । रासस 



  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १०:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया