मेयर बालेनको निर्णयविरुद्ध न्युरोड क्षेत्रका व्यवसायी सटर बन्द गरेर उत्रिए सडकमा

काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । 

उक्त क्षेत्रका व्यवसायीहरूले महानगरले व्यवसायीहरूसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरू व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । 

व्यवसायीहरूले स्थानीय सामाजिक संघ संस्था, व्यावसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका छन् । महानगरले सरोकारवालाहरूसँग परामर्श नगरी एकोहोरो  रूपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । 

उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यावसायिक भविष्य संकटमा पर्ने दाबी गरे । संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरूलाई धराशायी र पलायन गराउनु भएको आरोप लगाए । 

उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आउने बताए । उनले महानगरले एकोहोरो  निर्णय लाद्ने काम गलत भएको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनावश्यक रूपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको बताए ।



उनले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरूको आन्दोलन जारी रहने बताए  । उनले भने,‘काठमाडौं महानगरपालिकाले विकल्प नदिई जुन विगतको व्यवस्था खारेज गर्दा न्युरोड क्षेत्रका व्यवसायीहरू धराशायी हुने अवस्था छ । न्युरोड क्षेत्रमा पार्किङ हटाउँदा यो क्षेत्रका व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको छ । महानगरपालिकाले व्यावसायिक संस्था,स्थानीय क्लव र स्थानीयवासीहरुसँग समन्वय गरेर पार्किङ बन्द गरेको भए उचित हुने थियो । महानगरले एकोहोरो  निर्णय लाद्ने काम गलत गरेको छ ।’



आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीहरूले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरूलाई के जवाफ दिने भन्ने समस्या भएको बताए ।  

  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १४:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया