के नेपाल अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बन्न सक्छ ?
अध्ययन भिसा नदिने देशमा शैक्षिक हबको बहस कति सार्थक ?

नेपाली शैक्षिक जगतमा पछिल्लो समय ‘शैक्षिक हब’ बारे निकै चर्चा परिचर्चा हुने गरेको छ । शिक्षासँग सम्बन्धित हरेक जसो कार्यक्रममा ‘नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ कि सकिँदैन ?’ भन्ने विषयले स्थान पाएकै हुन्छ । चाहे त्यो नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश जान सहयोगी भूमिका निर्वाह गर्ने कन्सल्टेन्सीको वार्षिक समारोह होस् चाहे कुनै विश्वविद्यालयको दीक्षान्त समारोह उक्त विषयले स्थान पाएकै हुन्छ ।

उक्त शीर्षकमा धारणा व्यक्त गर्ने व्यक्तिले पनि खुला हृदयले नेपाललाई प्राचीन सम्भाव्यता, बौद्ध दर्शन, किराँत, संस्कृत शिक्षा, मेडिकल शिक्षा, प्राविधिक शिक्षा, आयुर्वेद, योग शिक्षालगायत विषय अध्ययन, अनुसन्धान गर्न विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने तर्कसहित भाषण दिएको सुनिन्छ ।

नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ । तर प्रश्न उठ्छ,नेपाललाई शैक्षिक हब बनाउने आधार र पूर्वाधार के छन् ? हामी कहाँ ती विषयसम्बन्धी पाठ्यक्रम बनेका छन् ? अध्यापन गराउने प्राध्यापक छन् ? त्यस किसिमको शिक्षा दिने विश्वविद्यालय वा कलेज खै ? स्वाभाविक प्रश्न हो यो । 

वर्षेनी लाखौँको संख्यामा नेपाली विद्यार्थी विदेश पलायन भएकोप्रति अमिलो मन बनाएर नेपाललाई शैक्षिक हब बनाउने बहस चलाउनुभन्दा पहिला यी प्रश्नको समाधान खोज्न जरुरी छ । विद्यार्थी विदेश गएकोप्रति चिन्ता गर्नुभन्दा पलायनको कारण पत्ता लगाउनुपर्छ ।

नेपाललाई शैक्षिक गन्तव्य बनाउने बहसभन्दा पहिला विदेशी विद्यार्थी भित्र्याउने नीति–नियम कस्ता छन् भन्ने विषयबारे थाहा पाउन जरुरी छ । नेपाललाई शैक्षिक गन्तव्य बनाउने र विदेशी विद्यार्थी नेपाल भित्र्याउने पहिलो ढोका हो–विद्यार्थी भिसा । जसलाई हामीले खोल्नै सकेका छैनौँ ।

नेपाल सरकारले विदेशी नागरिकलाई सिधै विद्यार्थी भिसा दिँदैन भने नेपालाई कसरी शैक्षिक हब बनाउन सकिन्छ ? अहिले नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी पहिला भ्रमण भिसामा आउनुपर्ने हुन्छ । त्यसपछि अध्ययन गर्न चाहेको शिक्षण संस्थामा भर्ना गराएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अध्ययनका लागि अनुमति लिएपछि मात्र अध्यागमन विभागले उक्त व्यक्तिको भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरिदिन्छ । जुन देशले सिधै विद्यार्थी भिसा नै दिँदैन त्यहाँ छाती तन्काएर ‘शैक्षिक हब’ को बहस गर्नुको औचित्य के ?



त्यसैले सबैभन्दा पहिला सरकारले विदेशी नागरिकलाई सिधै विद्यार्थी भिसामा नेपाल आउन सक्ने कानुनी प्रावधान गराउन जरुरी छ । त्यस्तै विदेशी विद्यार्थीको रोजाई तथा आकर्षण कुन विषयमा छ भन्ने पहिल्याउन पनि उत्तिकै जरुरी हुन्छ । विद्यार्थीले अध्ययन तथा अनुसन्धान गर्न चाहेको विषय अध्यापन गराउन सकेको खण्डमा विद्यार्थीलाई आकर्षित गर्न सकिएला । विश्वभरका विश्वविद्यालयले दिने शिक्षा र हामीले दिने शिक्षामा के फरक छ ? जसको लागि विदेशी विद्यार्थी नेपाल आउने ? त्यसको स्पष्ट खाका हामीसँग तयार हुनुपर्छ । नत्र त्यही व्यवस्थापन, मानविकी,विज्ञानलगायत विषय पढ्न विदेशी विद्यार्थी नेपाल किन आउने ? यी क्षेत्रमा नेपालका विश्वविद्यालयभन्दा विदेशी विश्वविद्यालय नै अब्बल देखिन्छन् । 

नेपालको जेठो र गुणस्तरीय शिक्षामा अब्बल भनिएको त्रिभुवन विश्वविद्यालय विश्ववरियतामा खस्किने क्रम जारी छ । अन्य विश्वविद्यालयको कन्तबिजोग पनि कतैबाट लुकेको छैन । हाम्रा विश्वविद्यालय वर्षौसम्म पदाधिकारीविहीन हुन्छन् । विद्यार्थीले समयमा भर्ना, परीक्षा र नतिजा पाउँदैनन् । शैक्षिक तालिका अनुसार विश्वविद्यालय चल्दैनन् । हरेक दिन जसो विश्वविद्यालयमा आन्दोलन, नाराबाजी र तालाबन्दी हुन्छ । विभिन्न बहानामा विद्यार्थीले शिक्षकलाई मोसो दल्छन् । मरणासन्न हुने गरी कुटपिट गर्छन् । विद्यार्थी संगठनले विद्यार्थीका समस्या समाधान गर्ने भन्दा पनि नेता र मन्त्रीको चाकडी ज्यादा गर्छन्, त्यस्ता विश्वविद्यालयमा विदेशी विद्यार्थी कुन आधार र विश्वास लिएर आउने ? शैक्षिक हबको बहससँगै हाम्रो ध्यान यतातिर पनि जान जरुरी देखिन्छ । 



नेपालाई शैक्षिक हब बनाउने हो भने हाम्रा विश्वविद्यालयले बेरोजगार हैन दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्ति विश्व बजारमा सहजै बिक्न सकेको खण्डमा विदेशी विद्यार्थीको ध्यान खिच्न हामीलाई सहज होला ।

नेपालका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले लेखेका थेसिस किलोको भाउमा चटपटे बेच्नमा हैन, अध्ययन अनुसन्धानका लागि बिक्री गर्न सकेमा नेपाललाई शैक्षिक हब बनाउने बाटोतर्फ अगाडि बढाउन सकिएला । विदेशी विद्यार्थीले नेपालको शिक्षा गुणस्तरीय छ भनेर विश्वास गर्ने वातावरण सिर्जना गर्नु शैक्षिक हब बनाउने अर्को आधार हुनसक्छ ।

नेपाललाई शैक्षिक हब बनाउन नसकिने हैन,बनाउन सकिन्छ । तर त्यसकालागि पहिला विदेशी विद्यार्थी सहज रूपमा नेपाल आउने, बस्ने र अध्ययन गर्न सक्ने वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ ।

नेपालबाट उच्च शिक्षाको नाममा विदेश पलायन भएका अधिकांश विद्यार्थी विदेशी विश्वविद्यालयले दिने शिक्षाभन्दा त्यहाँका सेवा,सुविधा र आयआर्जनका आधारलाई हेरेर जाने गरेका छन् । ती आधार नेपाल सरकारले पनि निर्माण गरिदिनुपर्छ ।

त्यसैले विदेशी विद्यार्थी कसरी ल्याउनेभन्दा पनि पहिला उनीहरूलाई नेपालमा बस्न सक्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अध्ययन सँगसँगै विद्यार्थीको आयआर्जन गर्ने वातावरण सरकारले सिर्जना गरिदिन सकेको खण्डमा पनि विद्यार्थीलाई नेपालतर्फ आकर्षित गराउन सक्ने अर्को उपाय हुन सक्छ ।

त्यस्तै स्थायी रूपमा नेपालमै बस्न चाहने दक्ष विद्यार्थीका लागि आवश्यक कानुनी व्यवस्था गर्न सकिएको खण्डमा पनि विद्यार्थीलाई नेपाल ल्याउन सकिने अर्को आधार बन्न सक्छ । त्यस्तै ठूलो संख्यामा विदेश पलायन भइरहेका नेपाली विद्यार्थीलाई स्वदेशमै रोक्ने उपाय हामीले खोज्नै पर्छ । नत्र जुन देशको सरकार र विश्वविद्यालयले आफ्नै विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सक्दैनन् त्यस्तो देशमा किन जाने भन्ने प्रश्न उठ्न सक्छ ।

अहिले नेपाली विद्यार्थीले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका देशमा जान किन मरिहत्य गर्छन् ? किन भने ती देशका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी अध्ययनपछि बेरोजगार बस्नुपर्दैन । त्यही वातावरण नेपाली विश्वविद्यालयले सिर्जना गर्न सकेको खण्डमा नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिन्छ ।

परिवर्तित समयानुकूल विद्यार्थीको आवश्यकता र मागलाई ध्यानमा राखेर गुणस्तरीय पाठ्यक्रम निर्माण गर्न सकेको खण्डमा पनि विद्यार्थीको आकर्षण बढाउन सकिन्छ । विश्वका उत्कृष्ट मानिएका विश्वविद्यालयका गतिविधि र शैक्षिक प्रणालीलाई नेपाली विश्वविद्यालयले पछ्याउन सके भने केही हदसम्म विदेशी विद्यार्थी आकर्षित गर्न नसकिने होइन । 

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १४:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया