logo-img

सडेको खाना बिक्री गर्ने होटललाई ५ हजार जरिवाना
फाइल तस्बिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । 

होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरूप होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिए ।

मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ ।

गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिए । 

केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरिएको भन्दै उनले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसूची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताए ।



गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिए । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए । 

मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिए ।



खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरूपमा बजार अनुगमन गरेका हुन् । रासस 

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १७:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया